राष्ट्रपतिको भारत भ्रमण स्थगित

  • 6 मे 2016
तस्वीर कपीराइट Reuters
Image caption राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रोकिनुमा अपर्याप्त तयारी पनि कारण रहेको बताइएको छ।

सरकार परिवर्तनको प्रयासले निम्त्याएको नयाँ राजनीतिक परिस्थितिका माझ राष्ट्रपति विद्या भण्डारीको आउँदो २७ गते हुने भनिएको भारत भ्रमण स्थगित भएको छ।

एकसाता लामो उनको भ्रमणबारे मन्त्रिपरिषदले निर्णय नगरेकाले तोकिएकै समयमा नहुने भएको बताइएको छ।

प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले भने औपचारिक भ्रमणका लागी तयारी नपुगेकाले हाललाई स्थगित गरिएको जनाए।

कुम्भ मेलाको अवसर पारेर भारत भ्रमणका जान लागेको कुरा केही दिन अघि स्वयम् राष्ट्रपतिले केही पत्रकारहरु माझ बताएकी थिइन्।

पहिले अनौपचारिक र पछि ‌औपचारिक भनिएको राष्ट्रपतिको भ्रमण शुक्रवार भने स्थगित भएको बताइएको हो।

स्थगित

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने, "परराष्ट्र मन्त्रालयले अहिले तत्कालका लागि स्थगित गर्ने र उपयुक्त समयमा भ्रमणको व्यवस्था मिलाउने भन्ने कुरा भएको छ।"

राष्ट्रपतिको भ्रमणका लागि भारतका राष्ट्रपति प्रणव मुखर्जी र मध्य प्रदेशका मुख्य मन्त्रीको निम्तो आएको थियो।

सरकार परिवर्तनको विषय सल्टिएकै भोलिपल्ट बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति भण्डारीको भ्रमणबारे निर्णय गर्ने भनिएको थियो।

तर उक्त बैठकले त्यसबारेमा निर्णय नै गरेन।

जसलाई कतिपयले प्रधानमन्त्री केपी ओलीको भारतप्रतिको असन्तुष्टिका रुपमा अर्थ्याएका छन्।

अस्वीकार

तर प्रधानमन्त्रीका परराष्ट्र मामिला विज्ञ गोपाल खनालले उक्त कुरा अस्वीकार गरे।

उनले भने "त्यो कुरा पूर्ण गलत हो । सरकारमा हालकै नेतृत्व रहने भन्ने कुरा बिहीबार नै तय भइसकेको थियो, औपचारिक भ्रमणको प्रक्रियाको तयारी नपुगेकाले मात्रै हाललाई स्थगित गरिएको हो।"

राष्ट्रपतिको भारत भ्रमण स्थगित भएको जानकारी परराष्ट मन्त्रालय मार्फत भारतीय सरकारलाई दिइसकेको बताइएको छ।

केही दिन पहिले भारतीय पहलमै वर्तमान सरकार ढाल्ने प्रयास गरिएको एमाले भित्रकै कतिपय नेताहरुले बताइरहँदा राष्ट्रपतिको भ्रमण स्थगित भएको हो।

कतिपयले यसलाई संविधान जारी भएसँगै निकै बिग्रिएको भनिएको नेपाल तथा भारत सरकारवीचको सम्बन्ध थप बिग्रिएको संकेतका रुपमा पनि लिएका छन्।