नेकपा एमाले-एमाओवादीबीच ९ बुँदे सहमति

  • 6 मे 2016
Image caption आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि सघाउन भन्दै प्रचण्डले बुधबार विज्ञप्ति निकालेका थिए।

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्न आह्वान गरेको २४ घण्टा नबित्दै उक्त पार्टी र सरकारको नेतृत्वकर्ता नेकपा एमालेबीच वर्तमान सरकारलाई निरन्तरता दिने आशयका साथ ९ बुँदे सहमति भएको छ।

सरकार गठनका बेला भएका समझदारीहरुको प्रभावकारी कार्यान्वयन र आपसी विश्वासलाई अझ सुदृढ पार्दै मुलुकका सबै समस्याको समाधानका निम्ति पछिल्लो सहमति गरिएको दुई पार्टीले बताएका छन्।

९ बुँदे सहमतिमा नयाँ संविधानको कार्यान्वयनदेखि भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी विषय समेटिएका छन्।

सहमतिमा संविधान कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा संरचनागत कार्य प्रभावकारी रुपमा अघि बढाउने र संघीयता लगायतका विषयमा तराई केन्द्रितसहितका दलले उठाएका विषयलाई राजनीतिक सहमतिका आधारमा टुंगो लगाउने उल्लेख छ।

सुनिश्चित

खासगरी सरकारको नेतृत्वकर्ता एमालेको भूमिकालाई लिएर एकीकृत माओवादीमा पछिल्लो समय देखिएको आशंका निवारण गर्ने उद्देश्यले नै पछिल्लो समझदारी गरिएको एमाले नेता प्रदीप ज्ञवालीले बताए।

पछिल्लो सहमतिसँगै तत्कालका लागि सरकार परिवर्तन नहुने सुनिश्चित भएको ज्ञवालीको दाबी छ।

उनले भने, “तत्काललाई सरकार परिवर्तन हुँदैन, यसबीचमा हामी बृहत् राष्ट्रिय सहमतिको सरकारका निम्ति प्रमुख प्रतिपक्षी दल र मधेश केन्द्रित दलहरुसँग पनि कुराकानी गर्छौँ।”

सहमतिमा शहीद तथा बेपत्ता परिवारलाई यसअघिका मन्त्रिपरिषद्ले गरेका निर्णय अनुरुप राहत दिने, द्वन्द्वकाल र विभिन्न समयमा लगाइएका राजनीतिक मुद्दाहरु फिर्ता लिने, माफी मिनाहाको प्रक्रिया अगाडि बढाउने बुँदाहरु पनि समेटिएका छन्।

यसअघि गरिएका सहमतिहरु कार्यान्वयन गर्ने र भूकम्पपछिको पुनर्निर्माण कार्यलाई गति दिन स्वयंसेवक परिचालनसहितको राष्ट्रिय अभियान सञ्चालन गर्ने दुई दलबीच सहमति भएको छ।

सहज

तस्वीर कपीराइट Reuters
Image caption ९ बुँदे समहतिसँगै एमाले नेतृत्वको सरकारलाई भावी बजेट ल्याउने बाटो चाहिँ सहज भएको देखिन्छ।

सहमतिको तेस्रो बुँदामा संक्रमणकालीन न्यायसम्बन्धी कार्य गर्न ठोस कार्यतालिकासहित १५ दिनभित्र कानुन संशोधन प्रकिया अगाडि बढाउने उल्लेख छ।

तर सरकार बजेटमा केन्द्रित हुँदा ती काम कसरी अघि बढ्ला त?

जवाफमा नेता ज्ञवालीले भने, “भ्याउँछौँ हामी, कति चिजहरु छन् जो नियमित कार्यतालिकाभित्रैका छन् जसमा अलिकति ध्यान दिँदा पुग्छ, जोड दिँदा पुग्छ।”

सत्तारुढ दलहरुबीचको सहमतिबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको औपचारिक प्रतिक्रिया आउन बाँकी छ।

तर एकीकृत माओवादीले आफ्नो सहयात्रालाई पुनः सुनिश्ति गरेपछि एमाले नेतृत्वको सरकारलाई भावी बजेट ल्याउने बाटो चाहिँ सहज भएको धेरैको बुझाई छ।