राजदूत फिर्ता प्रतिशोधपूर्ण: कांग्रेस

  • 7 मे 2016
तस्वीर कपीराइट bbc
Image caption परराष्ट्र मन्त्री कमल थापाले राजदूत फिर्तामा कुनै प्रतिशोध नभएको बताएका छन्

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णयप्रति मुख्य विपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

राजदूत उपाध्यायलाई फिर्ता बोलाउने निर्णय प्रतिशोधपूर्ण रहेको कांग्रेसको आरोप छ।

तर राजदूत फिर्ती प्रकरणमा सरकारका दुई उपप्रधानमन्त्रीका फरक-फरक भनाई आएका छन्।

पत्र प्राप्त नभइसकेको भन्दै राजदूत उपाध्यायले यसलाई सरकारको अधिकारक्षेत्र भनेका छन्।

'प्रतिशोध'

केही दिनसम्म देखिएको सरकार फेरबदलको खेल सकिए लगत्तै केपी ओली नेतृत्वको सरकारले भारतका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

शुक्रवार अबेरको सरकारी निर्णय प्रतिशोधपूर्ण ढंगको रहेको आरोप लगाएको कांग्रेसले तत्काल उक्त निर्णय फिर्ता गर्न सरकारसँग माग गरेको छ।

शनिवार संसद बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस नेता प्रकाशशरण महतले निराधार आरोप लगाएर राजूदतलाई फिर्ता बोलाइएको बताए।

उनले भने, "सरकार गिराउन लागे भन्ने लागेकाहरुले हामीसँग प्रतिशोध लिए हुन्छ, तर दुई पक्षीय सम्बन्धमा समस्या आउने स्थिति सृजना गर्ने खाले यस्तो अपरिपक्व व्यवहारले यो देशलाई कमजोर गर्छ।"

जवाफ

राजदूत फिर्ताका विषयमा सरकारले संसदमा जवाफ दिनुपर्ने कांग्रेसको मागपछि जवाफ दिन संसद बैठक पुगेका उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कमल थापाले उक्त निर्णयमा प्रतिशोध नभएको बताए।

उनले भने "राजदूत फिर्ता बोलाउने निर्णय नेपाल भारत सम्वन्धलाई नयाँ ढंगबाट अगाडि बढाउने र सरकारको नीति कार्यक्रम र सोचाई अनुसार काम गर्ने वातावरण तयार गर्ने क्रममा गरिएको हो।

राजदूत फिर्ताका बारेमा बाहिर आएका कुरा निराधार भएको थापाको भनाई छ।

तर उपप्रधानमन्त्री समेत रहेका रक्षामन्त्री भीम रावलले शनिवार एउटा कार्यक्रममा बोल्दै मर्यादा विपरित काम गरेकाले राजदूत उपाध्यायलाई फिर्ता बोलाइएको बताए।

उनले भने, "सरकार फेरबदलको कुरामा पनि आफ्नो कार्यस्थल छोडेर संलग्न भएको भन्ने कुरा आएको छ, राजदूत देशको हित विपरित गएकाले यो निर्णय गरिएको हो।"

राजदूत उपाध्यायले शनिवार बीबीसी हिन्दीसँग कुरा गर्दै आफ्नो फिर्ताको निर्णय सरकारको अधिकारको रुपमा रहेको बताएका छन्।

हालसम्म आफुले आधिकारिक पत्र नपाएको बताएका उनले पत्र प्राप्त भएपछि थप कुरा बोल्न सकिने बताएका छन्।

करिब एक वर्ष अघि तत्कालीन नेपाली काँग्रेस नेतृत्वको सरकारले आफ्नो पार्टीका केन्द्रिय सदस्य दीपकुमार उपाध्यायलाई भारतका लागि नेपाली राजदूतका रुपमा नियुक्त गरेको थियो।