देशभरका डढेलो ‘लगभग नियन्त्रणमा’

  • 7 मे 2016
तस्वीर कपीराइट bbc

यसै साता परेको हल्का पानीसँगै देशका धेरैजसो जंगलमा लागेको आगो अहिले करिब नियन्त्रणमा आएको वन विभागले जनाएको छ।

विभागका अधिकारीहरुका गर्मी चर्किंदै गएको अवस्थामा फेरि आगलागी हुने सम्भावना भने अझै टरिसकेको छैन।

यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो दशक वर्षयताकै उच्च भएको बताइन्छ।

आगलागीका कारण अहिलेसम्म करिब एक दर्जनको ज्यान गइसकेको छ।

डढेलो

तस्वीर कपीराइट bbc

वन विभागका प्रवक्ता चन्द्रमान डंगोलका अनुसार डोटी र सुर्खेतको सीमा क्षेत्रको जंगलमा शुक्रवार दिउँसो लागेको आगो बाहेक देशका अरु जंगलमा पानी परेपछि चार दिनयता आगो लागेको देखिएको छैन।

उनले भने,"अहिले हामीले पाएको जानकारी अनुसार डोटीको कञ्चनपुर भन्ने ठाँउमा आगो लागेको बाहेक अन्य स्थानमा आगो लागेको देखिएको छैन।"

वन विभागले यसवर्ष पूर्वको तुलनामा देशका पश्चिमी जिल्लाका वन तथा गाउँमा बढी आगलागी भएको बताएको छ।

यस वर्षको आगलागीबाट सबैभन्दा प्रभावित भएको एउटा जिल्ला गुल्मी देखिएको छ।

गुल्मीको वडागाउँमा गएको १८ गते जंगलबाट गाउँमा पसेको आगोले घर गोठ गरेर करिब एकसय संरचना ध्वस्त पारेको त्यहाँ पुगेका पत्रकार जनार्दन घिमिरे बताउँछन्।

उनले भने,"अहिले त्यहाँ टहरा लगाउने काम भइरहेको छ। राहत सामाग्री लिएर आउनेहरु पनि देखिएका छन्।"

क्षति

गुल्मीमा आगलागीमा परी यस वर्ष चार जनाको ज्यान गइसकेको छ।

विज्ञहरुका अनुसार अहिले आगलागी नियन्त्रणमा आए जस्तो देखिएपनि ढुक्क हुने अवस्था भने छैन।

ठूलो पानी नपर्दासम्म जेठ महिनासम्म पनि आगलागीको जोखिम उत्तिकै हुने गुल्मीका जिल्ला वन अधिकारी विशाल घिमिरे बताउँछन्।

नेपालमा सामान्यतया चैत्रदेखि जेठसम्म बढी आगलागी हुने गर्दछ।

यसवर्ष नेपालका ७२ जिल्लाका करिब २,६०० स्थानमा आगलागी भएको वन विभागले जनाएको छ ।