अफगानिस्तानमा तालेवान आक्रमण

  • 8 मे 2016
Image caption अफगानिस्तानमा ६ जना तालेवान कैदीलाई फाँसी दिइएको छ

अफगानिस्तानले आइतबार ६ जना तालेवान कैदीलाई फाँसीको सजाय दिएको छ।

आइतबार नै अफगानिस्तानमा पेट्रोल ट्यांकरसँग बस जुझ्दा कम्तिमा ७० जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्।

सन् २०१४ मा अशरफ गनी राष्ट्रपति भएपछि मृत्युदण्ड दिईएको यो पहिलोपटक हो।

गत महिना काबुलमा एउटा आक्रमणमा ६४ जना मारिएपछि राष्ट्रपति गनीले तालेवानप्रतिको प्रतिक्रिया अझ कडा बनाउने वाचा गरेका थिए।

चेतावनी

आइतबार नै तालेवानले हेलमण्ड प्रान्तको मुख्य शहर लश्कर गाहको बाहिर रहेका प्रहरी जाँचबुझ केन्द्रमा आक्रमण गरेका छन्।

तालेवानको गढ रहेको हेलमण्ड प्रान्तमा वार्षिक अफिमबाली काट्ने समयमा रहेको शान्ति यो आक्रमणले अन्त्य गरेको छ।

तालेवानले २ वटा जाँचबुझ केन्द्रमाथि कब्जा गरेको र १५ जना प्रहरीको हत्या गरेको बताएको छ।

तर प्रहरीले भने धपाईनुभन्दा अगाडि १४ जना तालेवान लडाकु मारिएका बताएको छ।

अफिम अफगानिस्तानको प्रमुख आयश्रोत मध्ये एक हो र गत हप्ता एक जना अमेरिकी जनरलले यो वर्षको राम्रो फसलले आक्रमणलाई बढावा दिने चेतावनी दिएका थिए।

आइतबार मृत्युदण्ड दिईएका मध्ये २ जना सन् २०११ मा भूतपुर्व राष्ट्रपति बुर्हानुद्दीन रब्बानीको हत्यामा संलग्न रहेका अफगानी टेलिभिजनले बताएको छ।

स्थगित

राष्ट्रपतिको कार्यालयले तालेवानको त्यो समूहले सर्वसाधारण र जनसुरक्षाका विरुद्ध गम्भीर अपराध गरेको र ती सबैजनामाथि कानुसम्मत रुपमा मुद्दा चलाईएको र दोषी पाईएको बताएको छ।

गत महिना काबुलमा भएको वर्षौंयताको सबैभन्दा घातक आक्रमणपछि राष्ट्रपति गनीले तालेवानलाई दण्ड दिने बेलामा कुनै दया नदेखाउने बताएका थिए र कानुनमा भएका मृत्युदण्ड लगायतका दण्ड दिने प्रतिबद्धता जनाएका थिए।

तालेवानले विदेशी सेनाले देश नछोडेसम्म अफगानी सरकारसँग नयाँ वार्तामा भाग नलिने भनेपछि यो वर्ष शान्ति वार्ता स्थगित भएको हो।

सन् २०११ मा सत्तबाट निश्काषित भएदेखि लडाकुहरु अफगान सरकारसँग द्वन्दरत छन्।

नेटोले सन् २०१४ को डिसेम्बरमा अफगानिस्तानमा आफ्नो सैनिक कारवाही अन्त्य गरेको थियो ।

त्यसपछि उसले ९ हजार ८ सय अमेरिकी सैनिक सहित १३ हजार सैनिकलाई तालिम र प्रतिआतंकवादी कारवाहीका लागी अफगानिस्तानमा छोडेको छ।