सिरियाबाट अपहरित स्पेनका पत्रकार रिहा

  • 8 मे 2016
तस्वीर कपीराइट AFP

स्पेनको सरकारले गत वर्ष सिरियामा अपहरित तीन जना पत्रकार रिहा भएको जनाएको छ।

पत्रकारहरु एन्टोनियो पेम्पयिगा, हुवान मानुयल लोपेज र एंहेल शास्त्रे १० महिनायता बेपत्ता थिए।

हालसम्म ती पत्रकारहरुलाई कसले अपहरण गरेको थियो भन्ने प्रष्ट भने भइसकेको छैन्।

सुरक्षित अवस्थामा रहेका उनीहरु आफ्नो घर फर्किरहेको अधिकारीहरुले बताएका छन्।

अपहरण

अघिल्लो जुलाईमा अलेप्पो शहर पुगेको केही दिनभित्रै ती अनुभवी पत्रकारहरु सम्पर्कविहीन भएका थिए।

सिरियामा जारी गृहयुद्धका क्रममा उक्त शहरमा हालसम्मकै सबैभन्दा भीषण भिडन्तहरु भएका छन्।

उक्त शहर आफ्नो नियन्त्रणमा लिन जिहादी समूह इस्लामिक स्टेट सम्बद्ध विद्रोही समूहहरु र अलकायदासँग सम्बन्धित जभात अल नुस्रा समूह सरकारी फौजसँग लडिरहेका छन्।

ती पत्रकारहरु, दुई सम्वाददाता र एक फोटो पत्रकारलाई अपहरण गरिएको ठानिएको छ।

स्पेनको सरकारले टर्की र कतार अनि अन्य आफ्ना मित्र तथा साझेदारहरुले उनीहरुको रिहाईका लागि मद्दत गरेको जनाएको छ।

स्पेनका पत्रकारहरुको छाता संगठनले आफ्ना सहकर्मीहरुको रिहाईको खबरले आफू हर्षित र भावुक भएको प्रतिक्रिया दिएको छ।

खतरनाक

यसअघि सन् २०१४ मा ६ महिना इस्लामिक स्टेट समूहको कब्जामा परेका स्पेनका दुईजना पत्रकार रिहा भएका थिए।

सञ्चार माध्यमको अधिकारको पक्षमा वकालत गर्ने समूह रिपोर्टस विथाउट बोर्डर्सले सिरियालाई पत्रकारहरुका लागि सबैभन्दा खतरनाक देशका रुपमा सूचिकृत गरेको छ।

सिरियाली र विदेशीसहित त्यहाँ कयौँ पत्रकार मारिएका छन्।

हालैका हप्तामा अलेप्पोमा हवाई हमलाका कारण दर्जनौँ मानिसहरु मारिएका छन् र पछिल्लो हिंसालाई ५ वर्षअघि सिरियामा गृहयुद्ध शुरु भएयताकै सबैभन्दा खराब मानिएको छ।

बुधवारबाट आह्वान गरिएको युद्धविरामले उक्त शहरलाई केही राहत दिएको ठानिएको छ।