कर र निवृत्तिभरणसम्बन्धी नयाँ कदम पारित

  • 9 मे 2016
तस्वीर कपीराइट AP

युरो मुद्रा प्रचलनमा रहेको युरोजोनका अर्थमन्त्रीहरुको बैठकअघि ग्रीसको संसदले कर तथा निवृत्तिभरण सुधारसम्बन्धी एउटा प्याकेज अनुमोदन गरेको छ।

अन्तर्राष्ट्रिय ऋण सहायताको अर्को किस्ता प्राप्त गर्नका निम्ति ग्रीसका लागि उक्त प्याकेजलाई महत्वपूर्ण ठानिएको छ।

मितव्ययीतासम्बन्धी पछिल्लो विवादास्पद कदमसँगै अन्तर्राष्ट्रिय ऋण सहायता अन्तर्गतको ५ अर्ब युरो बराबरको अर्को किस्ता पाउने बाटो ग्रीसका लागि खुल्नेछ।

एथेन्सस्थित संसदमा उक्त प्याकेजमाथि मतदान हुनुअघि प्रदर्शनकारीहरुले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका थिए र त्यसको जवाफी कारवाहीस्वरुप प्रहरीले अश्रु ग्यास प्रहार गरेका थिए।

बहस

ट्रेड युनियनहरु भन्छन्, मितव्ययीतासम्बन्धी अर्को चरणका कदमहरु ग्रीसले अब थेग्न सक्दैन।

पछिल्लो प्रस्तावलाई अनुमोदन गर्ने वा नगर्ने विषयमा ग्रीक सांसदहरुले संसदमा दुई दिन बहस गरेका थिए।

पछिल्लो प्याकेज पारित भएसँगै सेवा निवृत्तिभरणमा केही कटौती हुने र सामाजिक सुरक्षावापतको करमा वृद्धि हुनेछ।

तस्वीर कपीराइट Reuters

त्यसैगरी मध्यम एवम् उच्च आय भएकाहरुले थप कर तिर्नुपर्ने हुनेछ।

अस्वीकार्य

त्यसविरुद्ध हजारौं मानिसहरुले एथेन्स र दोस्रो ठूलो शहर थेसलोनिकीमा प्रदर्शन गरेका थिए।

तीनदिने आमहडतालका कारण सार्वजनिक यातायात ठप्प रह्यो।

संसदमा मतदान हुनुअघि ग्रीक कम्युनिस्ट पार्टीका नेताले मितव्ययीताका पछिल्ला कदमहरु ग्रीसका जनताले न सहन गर्ने न त स्वीकार्ने बताएका थिए।

ग्रीसलाई दिइने ऋण सहायताबारे छलफल गर्न युरो मुद्रा प्रचलनमा रहेको युरोजोनका अर्थमन्त्रीहरुको बैठक सोमबार बस्दैछ।