ओबामाले हिरोशिमाको भ्रमण गर्ने

  • 10 मे 2016
तस्वीर कपीराइट AFP

अमेरिकी राष्ट्रपति बाराक ओबामाले यसै महिना केहीपछि जापानको हिरोशिमाको सांकेतिक भ्रमण गर्ने ह्वाइट हाउसले जनाएको छ।

दोस्रो विश्वयुद्धमा अमेरिकी परमाणु बम हमलाबाट ध्वस्त भएको उक्त शहरमा बहालवाला अमेरिकी राष्ट्रपतिबाट गर्ने त्यो पहिलो भ्रमण हुनेछ।

राष्ट्रपति ओबामाको जापान भ्रमण उनले २१ देखि २८ मे मा गर्ने भियतनाम सहितको एसियाली भ्रमणको एक भाग हुनेछ।

सन् १९४५ को अगस्ट ६ तारिखमा अमेरिकाले जापानको हिरोशिमा सहरमा परमाणु बम खसाल्दा एकलाख चालिस हजार मानिसको मृत्यु भएको थियो।

त्यस लगत्तै नागासाकी शहरमा गरिएको अर्को परमाणु बम हमलापछि दोस्रो विश्व युद्ध अन्त्य भएको थियो।

तस्वीर कपीराइट Reuters

ऐतिहासिक

भूतपुर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरले पनि हिरोशिमाको भ्रमण गरेका थिए, तर त्यो उनले राष्ट्रपतिको कार्यकाल समाप्त गरेपछि गरेको भ्रमण थियो।

राष्ट्रपति ओबामाको प्रेस सचिवले जारी गरेका वक्तव्यमा भनिएको छ, "राष्ट्रपतिले जापानी प्रधानमन्त्री शिन्जो आबेका साथ हिरोशिमाको ऐतिहासिक भ्रमण गर्नेछन्।"

उनले त्यहां शान्ति तथा सुरक्षाको खोजीमा परमाणु अस्त्रविहीन विश्व सिर्जना गर्नमा उनको निरन्तरको प्रतिबद्धतामा जोड दिनेछन्।

ह्वाइट हाउसले हिरोशिमा भ्रमणका क्रममा राष्ट्रपतिले परमाणु बम हमलाका लागि कुनै क्षमायाचना नगर्ने बताएको छ।

तस्वीर कपीराइट Reuters

राष्ट्रपतिका संचार मामिला सल्लाहकार बेन रोड्सले आफ्नो ट्वीटर पेजमा भनेका छन्, राष्ट्रपतिले दोस्रो विश्व युद्धको अन्त्यतिर परमाणु बम प्रयोग गर्ने अमेरिकी निर्णयको चर्चा गर्नेछैनन्।

दूरदृष्टि

बरु उनले दुई देशको साझा भविष्यमा केन्द्रीत अग्रगामी दूरदृष्टि प्रस्तुत गर्ने बेन रोड्सले बताए।

राष्ट्रपति ओबामाले जापानको इसे शिमा प्राय:द्वीपमा हुने जी सेभेन शिखर बैठकमा भाग लिनेछन्।

उनले प्रधानमन्त्री आबेसंग पनि द्वीपक्षीय हीतका विषयमा छलफल पनि गर्नेछन्।

त्यसअघि राष्ट्रपति ओबामाले भियतनाम भ्रमण गर्ने कार्यक्रम छ।

तस्वीर कपीराइट Getty Images

भियतनामको राजधानी हनोईमा उनले अमेरिका र भियतनामको सम्बन्धका बारे एउटा भाषण दिने र सो देशका उच्च नेताहरुसंग भेट गर्ने बताइएको छ।