राष्ट्रपतिय चुनावमा डुटेर्ते ‘विजय नजिक’

  • 10 मे 2016
तस्वीर कपीराइट Reuters

फिलिपिन्समा भएको राष्ट्रपतिय चुनावको मतगणना अन्तिम चरणमा पुग्दैगर्दा कट्टरपन्थी एवं अपराध विरोधी भनिने उम्मेदवार रोड्रोगो डुटेर्तेले आफ्नो विजय भएको दाबी गरेका छन्।

आधिकारिक मतगणना परिणाम अनुसार ९० प्रतिशत मतगणना सकिंदा दक्षिणी शहर डाभाओका मेयर रहेका डुटेर्तेले ३९ प्रतिशत मत हासिल गरेका छन्।

म्यानुअल रोक्सास् २३ प्रतिशत भोट ल्याएर दोस्रो स्थानमा रहेका छन्।

सबैभन्दा बढी मत हासिल गर्ने उम्मेदबारलाई विजयी घोषणा गरिनेछ।

“डिगोङ्” उपनामले बोलाइने डुटेर्ते आर्थिक सुधार र अपराध नियन्त्रणका मुद्दा लिएर चुनावी मैदानमा होमिएका थिए।

तीनै कडा र खस्रो मिजासका ठट्यौला उम्मेदवार अहिले झण्डै डेढ करोड मत ल्याएर जितको नजिक छन्।

हलचल

तस्वीर कपीराइट EPA

उनी जितको नजिक आएसंगै फिलिपिन्सको राजनीतिक वृत्तमा हलचल मच्चिएको छ।

लगभग सबै मत गणना भइसक्दा डुटेर्ते धेरै मतले अगाडी छन् र उनका केही विपक्षीहरुले आफ्नो हार स्वीकार गरिसकेका छन्।

७१ वर्षे डुटेर्तेलाई पछ्याइरहेका उम्मेदवार, निर्वतमान राष्ट्रपति बेनिनो अक्वीनोको समर्थन प्राप्त मारोहासले आफ्नो पराजय स्वीकार गरेपछि डुटेर्तेले औपचारिक वक्तव्य दिने अपेक्षा गरिएको छ।

राष्ट्रपति ‘नोनोए’ भनिने बेनीनो अक्वीनो आफ्नो छ वर्षे कार्यकाल पुरा गर्दै पदत्याग गर्दैछन्।

डुटेर्तेले एएफपी समाचार संस्थालाई भने मतगणनामा उनको अग्रतालाई अब कसैले तोड्न सक्दैन।

उनले भने, “म नम्रतापूर्वक, विनम्रतापूर्वक जनताले दिएको जानदेशलाई स्वीकार गर्दछु।"

विवादास्पद

तस्वीर कपीराइट epa

उनले आफ्नो शान्ति सुरक्षा तथा अमन चयन कामय गर्ने नीतिका कारण आफू सफल भएको बताए।

डुटेर्तेले अश्लिल र विवादास्पद अभिव्यक्ती दिदै चुनावी अभियान थालेका थिए।

कानूनविहिन दक्षिणी शहरका डाभाओका मेयर भएकोले मतदाताहरुलाई उनले फिलिपिन्समा व्याप्त अपराध र भ्रष्टाचारलाई नियन्त्रण गर्न सक्ने ठानेको हुन सक्छ।

तर उनको २२ वर्षे डाभाओ मेयरको कार्यकालमा अपराधीहरुको गैरन्यायिक हत्या भएको भनि मानव अधिकारवादीहरुले चिन्ता व्यक्त गरेका छन्।

डुटेर्तेका उपराष्ट्रपतिका रुपमा समाजिक अभियानकर्ता लेनी रोब्रेडोले पूर्व तानाशाहका छोरा बोङबोङ मार्कोसलाई हराउँदै अघि बढ्ने देखिएको छ।