इराक बम हमलामा दर्जनौंको मृत्यु

  • 11 मे 2016

इराकको राजधानी बग्दादमा गरिएका तीनवटा बम हमलाहरुमा दर्जनौं मानिसहरुको ज्यान गएको छ। ‌

भीडभाडपूर्ण एउटा बजारमा भएको पहिलो बम विस्फोटमा मारिनेमा धेरैजसो महिला तथा बालबालिकाहरु रहेका प्रत्यक्षदर्शीहरुले बताएका छन्।

राजधानी बग्दादस्थित एउटा बजारमा ६४ जनाको ज्यान जाने गरी एउटा बम हमला गरिएको केही घण्टापछि नै थप दुईवटा कार बम विस्फोटहरु भएका थिए।

शिया

सद्र सिटि भनिने मुख्यतया शिया मुसलमानहरुको बाहुल्य रहेको क्षेत्रको भिडभाडपूर्ण इलाकामा पनि कार बम हमला गरिएको थियो।

त्यहां भएको हमलामा मारिनेहरुमा धेरैजसो महिला तथा बालबालिकाहरु थिए।

मारिनेमा आफ्नो विवाहको तयारीमा सिंगारपटार गर्न त्यहांको एउटा सौन्दर्य सेवा प्रदान गर्ने 'ब्युटी सलुन'मा आएका हुनेवाला दुलहीहरु पनि भएका इराकी प्रहरी र चिकित्साकर्मीहरुले बताएका छन्।

आइएस

रोएटर्स समाचार एजेन्सीसंग कुरा गर्दै प्रहरी सूत्रहरुले बताए अनुसार उत्तरी कदीमिया क्षेत्रमा भएको हमलामा कम्तीमा १५ जना मारिएका छन् भने शहरको पश्चिममा भएको हमलामा अन्य सात जना।

सुन्नी जिहादी समूह इस्लामिक स्टेटले उक्त हमलाका लागि आफू जिम्मेवार रहेको दावी गरेको थियो।

उत्तरी र पश्चिमी इराकको ठूलो क्षेत्रमा आफ्नो नियन्त्रण कायम राखेको सो समूहले शियाहरुलाई धर्मनिन्दक मान्ने गर्छ र नियमित रुपमा शियाहरुलाई निशाना बनाउने गर्दछ।