ब्रजीलका नयाँ नेताद्वारा एकतामा जोड

  • 13 मे 2016
तस्वीर कपीराइट

ब्रजीलका नयाँ अन्तरिम राष्ट्रपति मिशेल टेमेयरले देशवासीलाई सम्बोधन गर्दै एक ढिक्का भएर आफूलाई समर्थन गर्न आग्रह गरेका छन्।

उनले आगामी अगष्ट महिनामा हुने रियो ओलम्पिक्स् विश्वलाई ब्रजीलको वास्तविक राजनीतिक र आर्थिक अवस्था प्रदर्शन गर्ने विशिष्ट अवसर भएको बताएका छन्।

बुधवार २० घण्टाको छलफलपछि सिनेटले वित्तीय अनियमितताको आरोपमा राष्ट्रपति जिल्मा रुसेफमाथीको महाभियोग प्रक्रिया अघि बढाउदै उनलाई निलम्बन गरेपछि टेमेयरले सत्ताको नेतत्व लिएका हुन्।

त्यसअघि राष्ट्रपति भवन छाड्नुअघिको भावपूर्ण सम्बोधनमा रुसेफले आफ्नो महाभियोगविरुद्ध सबै कानुनी अस्त्र प्रयोग गरी लड्ने वाचा गरेकी छन्।

निलम्बन

एक समय उपराष्ट्रपतिको पदमा आसिन टेमेयर रुसेफका सत्ता साझेदार पनि थिए।

कार्यवाहक राष्ट्रपतिको जिम्वेवारि पाएपछि उनले देशलाई एकताबद्ध हुन आग्रह गरे र हालसम्मै सबैभन्दा खराब आर्थीक संकट सबैभन्दा ठूलो चुनौती रहेको बताए।

उनले भने, “देशलाई यथासीघ्र शान्त बनाउनु पर्छ र ब्रजीललाई एक ढिक्का बनाउनुपर्छ, देशलाई जोगाउने एउटा सरकार छिटो गठन गर्नुपर्छ।”

तस्वीर कपीराइट AP Roberto Stuckert Filho

राष्ट्रपति जिल्मा रुसेफको पालाको ३२ वटा मन्त्रालयको संख्यालाई उनले २३ वटामा घटाउदै नयाँ मन्त्रिपरिषदको घोषणा गरेका छन्।

आलोचना

मन्त्रीहरुको चयन लगत्तै सरकारमाथि आलोचना भएको छ किनभने सबै मन्त्रीहरु गोरा जातिका पुरुषहरु छन् जसले ब्रजीलको विविधता समेट्न नसक्ने धारणा आइरहेको छ।

सन् १९७९ यता सरकारमा पहिलो पटक कुनै पनि महिला प्रतिनिधिलाई सहभागी गराइएको छैन्।

सिनेटमा भएको मतदानमा बजेट हिनामिना गरेको आरोप सहितको महाभियोग प्रस्तावमाथि सुनवाई गर्नुपर्ने पक्षमा ५५ र त्यसको विपक्षमा २२ मत परेको थियो।

बिहीबार अपरान्ह आफ्नो अन्तिम सम्वोधनमा रुसेफले ती आरोपहरु अस्वीकार गर्दै आफूमाथि भएको अन्यायविरुद्ध कानुनी लडाँइ लड्ने बताइन्।

७५ बर्षिय टेमेयरले ६८ बर्षिय रुसेफमाथिको महाभियोगबारे सुनवाई गर्न उपलब्ध गराइने अधिकतम समयसीमा अर्थात अबको १८० दिनसम्म राष्ट्रपतिको कार्यभार सम्हाल्ने छन्।