बद्रदीनको मृत्यूको आरोप जिहादीमाथि

  • 14 मे 2016
तस्वीर कपीराइट Reuters
Image caption बद्रदीनको मृत्यु कहिले भएको हो त्यो हेज्बोल्लाहले बताएको छैन

सिरियामा हेज्बोल्लाहका वरिष्ठ सैनिक कमाण्डर मुस्तफा बद्रदीन जिहादीहरुको गोलाबारीमा परेर मारिएको उक्त समूहले बताएको छ।

दमस्कस विमानस्थल नजिकै भएको बद्रदीनको मृत्युको घोषणा शुक्रबार गरिएको थियो र शुरुमा हेज्बोल्लाहको प्रमुख शत्रु ईजरायलमाथि हत्याको आरोप लगाईएको थियो।

बद्रदीनले सन् २०११ देखि सिरियामा भएका सबै हमलाहरुको नेतृत्व गरेको विश्वास गरिएको छ।

रहस्यमयी

एउटा वक्तव्य जारी गर्दै हेज्बोल्लाहले बद्रदीन दमस्कस विमानस्थल नजिकै ताकफिरि लडाकु समूहले गरेको गोलाबारीमा परेर मारिएको एउटा अनुसन्धानले देखाएको बताएको छ।

तर बीबीसीका अरब मामिला सम्पादक सेबास्टियन असर भन्छन्: बद्रदीनको मृत्युका बारेमा अझै धेरै प्रश्नहरु बाँकी छन्।

एउटा पर्यवेक्षक समूह सिरियन अबजरभेटरी फर ह्युम्यान राइट्सले उनको मृत्यु भएको क्षेत्रमा एकहप्ता भन्दा बढी समयदेखि गोलाबारी नभएको बताएको छ।

लेबनन र सिरियाका राजनीतिक व्यक्तित्वहरु संलग्न भएका धेरै हत्याहरु अहिलेसम्म रहस्यमयी रहेका असर बताउँछन्।

निशाना

सिरियाली राष्ट्रपति बशर अल असदलाई समर्थन गरेका कारण उक्त समूह ईस्लामिक स्टेट र अल नुस्रा फ्रन्ट लगायतका असद विरोधी विद्रोही समूहको निशाना बनेको छ।

हेज्बोल्लाहका हजारौं लडाकुहरुले सिरियाभरीका मोर्चामा सरकारी सेनालाई सहयोग गरिरहेका छन् र सयौं मारिएको विश्वास गरिएको छ।

हेज्बोल्लाहको वक्तव्यमा बद्रदीनको मृत्युले उसकै शब्दमा यस्ता आपराधिक समूहको सामना गर्ने र उनीहरुलाई परास्त गर्ने आफ्नो प्रतिबद्धता अझ बढाउने बताएको छ।