नियमावलीमा सहमतिको 'अन्तिम' प्रयास

  • 15 मे 2016
nc तस्वीर कपीराइट bbc
Image caption विपक्षी कांग्रेस पुरानै प्रावधान अनुसारको सदस्य संख्या संसदीय सुनुवाइ समितिमा हुनुपर्ने अडानमा छ

आइतबार पनि सहमति जुट्न नसके संशोधन हालेर संसदमार्फत नै टुङ्गो लगाउने नेताहरुले बताएका छन्।

संसदीय सुनुवाइ समितिमा रहने सदस्य संख्यालाई लिएर सत्ताधारी दल र प्रमुख विपक्षी दलबीच देखिएको विवादका कारण सात महिनादेखि संसदको नियमावली बन्न सकेको छैन।

यसका कारण विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुको संसदीय सुनुवाइको काम रोकिएका छन्।

मतभेद

नयाँ संविधान अनुसार संसदीय सुनुवाइ समितिमा १५ जना सदस्य हुनुपर्ने अडान सत्ताधारी दल एमाले र एकीकृत माओवादीको छ भने पुरानै नियमावली अनुसार ७३ सदस्यीय समिति हुनुपर्ने प्रमुख प्रतिपक्षी कांग्रेसको अडान छ।

नियमावली मस्यौदा समितिमा सहमति जुट्न नसकेपछि देखिएका विवादलाई उल्लेख गरेर आफ्नो प्रतिवेदन समितिले संसदमा पेश गरिसकेको छ।

समितिमा देखिएका विवादलाई मिलाउन अहिले शीर्ष नेता तहमा छलफल भइरहेको बताइएको छ।

शनिबारको छलफलमा पनि आ-आफ्नै अडानमा देखिएका दलहरुबीच आइतबार सहमतिका लागि अन्तिम प्रयास हुने नेताहरुले बताएका छन्।

एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भने, "सकभर सर्वसम्मत, नभए पनि कम्तीमा संविधान निर्माणमा एक ठाँउमा रहेका दलहरु फेरि पनि एकै ठाँउमा उभ्याउने हाम्रो प्रयत्न हो।"

संसदमा पुगेको मस्यौदामा संशोधन हाल्नका लागि सोमबारसम्मको समय दिइएको छ।

एकीकृत माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले छलफल सकारात्मक बनेकाले सहमति जुट्ने सम्भावना रहेको बताए।

उनले भने,"हालको छलफल सुन्दा सहमति हुन्छ भन्ने नै हामीलाई विश्वास लागेको छ, शीर्ष नेताहरु बसेर यो विषय वस्तु टुङ्ग्याउनु हुन्छ।"

संकेत

यद्यपि दलहरुले आफ्ना अडानबाट पछाडि हट्ने संकेत देखाएका छैनन्।

आफ्नो भनाइमा सहमति नभए मस्यौदामा संशोधन हाल्ने र त्यसैमार्फत टुंगोमा पुग्ने मनस्थितिमा आफूहरु रहेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बताए।

उनले भने, "अब संसदले जे निर्णय गर्छ त्यही गर्ने भन्नेमा छौं, संसदले निर्णय गर्दा हामी अल्पमतमा पर्यौ भने पनि त्यसलाई स्वीकार गर्छौं।"

दलहरुबीच जारी विवादका कारण संसदीय सुनुवाइ हुन नसक्दा प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका ११ न्यायाधीश, प्रमुख निर्वाचन आयुक्त र २२ जना राजदूतको नियुक्ति हुन सकेको छैन।