'काठमाण्डू बाहिर पनि आन्दोलन'

  • 18 मे 2016
Image caption निर्णायक आन्दोलन गर्ने भन्दै जनजाति संगठन/पार्टी र मधेशी मोर्चाले गठबन्धन बनाएका हुन्

राजधानी काठमाण्डूमा निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको संघीय गठबन्धनले अब वीरगञ्ज र पोखरामा पनि विरोध कार्यक्रम गर्ने घोषणा गरेको छ।

सिंहदरबार र प्रधानमन्त्री निवास घेराउ गरेपछि गठबन्धनले १० दिन दिनहुँ काठमाण्डू उपत्यकाभित्र विरोध कार्यक्रम गर्ने जनाएको हो।

गठबन्धनको एउटा घटक तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का नेता सर्वेन्द्रनाथ शुक्लले एउटा पोखरा र अर्को वीरगञ्जमा विरोधसभा गरेपछि पहिलो चरणको संयुक्त विरोध कार्यक्रम सकिने जनाए।

भ्रम

जनजाति संगठन र पार्टीसँगको संयुक्त आन्दोलनबारे उनले भने, “सरकारले जुन विखण्डनकारी र साम्प्रदायिक भन्ने भ्रम सृजना गरेको थियो, एकतावद्ध भएर त्यो चिरेका छौं।”

यसअघि गठबन्धनले काठमाण्डू केन्द्रित निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको थियो।

तर आन्दोलन सशक्त नभएको टिप्पणीका माझ उपत्यका बाहिर आन्दोलन कार्यक्रम निर्धारण गर्नुको अर्थ काठमाण्डूमा आन्दोलन नफापेको ठम्याइका साथ उपत्यका छाड्ने संकेत त हैन?

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, “अधिकारको निम्ति राजधानी काठमाण्डूमा लड्न आएका छौं, मधेसी-जनजाति सबै मिलेर लडेका छौं। तर काठमाण्डूले वास्ता गरेन र खाली हात फर्काइदियो भने फेरि आ-आफ्नो ठाउँमा गएर संघर्ष त गर्नु प-यो, चुप लागेर बस्नु त भएन नि।”

विवाद

अहिले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त आन्दोलन मूल परिचालन समितिको संयोजकको हैसियतमा काम गरिरहेका छन्।

त्यसबारे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र विवाद छ।

महतोले समितिको संयोजक चयनबारे मतभेद रहेको स्वीकार गरे।

तर त्यसलाई आफूहरुहरुको आन्तरिक मामिला भन्दै उनले त्यसबारे छलफल गरिने बताए।

जानकारहरुका अनुसार तराई मधेस लोकतान्त्रिक पार्टीको महाधिवेशनपछि त्यसबारे मधेसी मोर्चामा छलफल हुनेछ।