'सत्ता ढाल्ने अमेरिकी षडयन्त्र'

  • 18 मे 2016
तस्वीर कपीराइट Reuters

भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोले संयुक्त राज्य अमेरिकाले आफ्नो देशमा विदेशी सैनिक परिचालन गर्ने र आफूलाई पदबाट हटाउने षडयन्त्रको नेतृत्व गरिरहेको आरोप लगाएका छन्।

भनेजुएलाले चरम आर्थिक संकट भोगिरहेका बेला विदेशी संचारकर्मीसँग कुरा गर्दै उनले आफ्नो अवमुल्यन गर्न केही पत्रकारहरु पनि लागिपरेको बताए।

तर एक जना विपक्षी नेता एनरिके क्याप्रिलेसले देशको सेनालाई राष्ट्रपति निकोलास मडुरो र संविधान बिच एउटा चुन्न सुझाव दिएका छन्।

अघिल्लो हप्ता संकटकाल लगाउने राष्ट्रपति मडुरोको कदम असंवैधानिक रहेको जिकिर गर्दै उनले त्यस्तो धारणा राखेका हुन्।

संकट

तस्वीर कपीराइट AP

प्रत्येक हप्ता बित्दै जाँदा भेनेजुएलाको अवस्था थप तनावपूर्ण बन्दैछ र त्यहाँ गम्भिर अस्थिरताको सम्भावना बढदै गएको छ।

विदेशी संचारकर्मीसँग विरलै हुने अन्तरक्रियाका क्रममा राष्ट्रपति मडुरोले अमेरिकी सैन्य हवाई जहाज अघिल्लो हप्ता दुई पटक गैरकानुनी रुपमा आफ्नो देशको हवाई क्षेत्रमा प्रवेश गरेको बताए।

त्यसलाई सरकार विरुद्धको षडयन्त्र भन्दै उनले विदेशी सैनिक भेनेजुएलामा ल्याउने वातावरण बनाउन खोजिएको आरोप लगाए।

भनेजुएलासँग विश्वको सबैभन्दा बढी तेल सँञ्चिति रहेको छ तर आधारभूत उपभोग्य सामानको अभावमा उसको अर्थतन्त्र अस्तव्यस्त बन्दै गइरहेको छ।

मानिसहरुले सुपर मार्केट र औषधी पसलहरुमा घण्टौँ लाम लाग्नुपर्ने अवस्था छ र उर्जा अभावका कारण सरकारी कर्मचारीहरुले हप्ताको दुई दिनमात्र काम गर्ने गरेका छन्।

विरोध

अघिल्लो हप्ता संकटकालको घोषणा गरेपछि, भेनेजुएला भर सरकार विरोधी प्रदर्शनहरु बढेका छन्।

त्यसयता दंगा प्रहरीहरुले अश्रू ग्यास प्रयोग गरि प्रदर्शन नियन्त्रणको प्रयास गर्दै आएका छन्।

उक्त प्रस्ताव त्यहाँको राष्ट्रिय सभाले अस्वीकृत गरेको छ तर भेनेजुएलाका राष्ट्रपतिले आफ्नो अडानबाट पछि नहट्ने जनाएका छन्।

राष्ट्रपति मडुरोप्रतिको समर्थन घट्दै गएपनि जनमतसंग्रह मार्फत आफूलाई हटाउने कंग्रेसको प्रयासलाई उनले रोकिराखेका छन्।

उनले ह्युगो चाभेजको नेतृत्वमा भएको वामपन्थी क्रान्ति कुनै पनि हालतमा आफूले जोगाउने बताउने गरेका छन्।