विश्व बौद्ध सम्मेलन काठमाण्डूमा सुरु

  • 19 मे 2016
तस्वीर कपीराइट AP

काठमाण्डूमा शुरु भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा भारत सहित २८ राष्ट्रका प्रतिनिधिहरुले सहभागिता जनाउने पर्यटन मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

बुद्धको जन्मस्थल लुम्विनी, बौद्ध दर्शन तथा अध्यात्मको उद्गम भूमी हो भन्ने सन्देश फैलाउने उद्देश्य राखिएको भनिएको उक्त सम्मेलनमा लुम्बिनी घोषणापत्र जारी गरिने र त्यसको कार्यान्वयन नियमित रुपमा गरिने बताइएको छ।

सम्मेलनमा ५ राष्ट्रका संस्कृती मन्त्री, संयुक्त राष्ट्र संघका प्रतिनिधि, अष्ट्रेलिया र स्वीट्जरलण्ड लगायत २८ राष्ट्रका सरकारी प्रतिनिधि, धर्म गुरु, भिक्षु र भिक्षुणीहरु गरी ८ सय भन्दा बढीको उपस्थिति हुने बताइएको छ।

भारतबाट प्रतिनिधिहरु आउने नआउने विषयले चर्चा पाइरहेको बेला मध्यम तहका दुई प्रतिनिधिहरु उपस्थित हुने संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

कार्यपत्र

पर्यटन सचिव प्रेमकुमार राईले भने, "भारतबाट राजदूतकै नेतृत्वमा चार जनाले प्रतिनिधित्व गर्दैछन्। त्यहाँका पूर्व परराष्ट्र सचिव ललितकुमार सिंह र अर्का एक पूर्व राजदूतले भाग लिनेछन्।"

काठमान्डूको दुई दिने सम्मेलनमा बुद्ध दर्शनसंग सम्वन्धित १९ वटा कार्यपत्र प्रस्तुत हुने बताइएको छ।

तेस्रो दिन लुम्विनीमा २५ सय ६० औं बुद्ध जयन्ती समारोह मनाएपछि कार्ययोजना सहितको लुम्बिनी घोषणापत्र जारी गर्ने कार्यक्रम राखिएको छ।

उक्त घोषणापत्र कार्यान्वयनबारे पर्यटन सचिव प्रेमकुमार राईले भने, "घोषणापत्र जारी गरिसकेपछि विभिन्न देशहरु फैलिएको बुद्ध जन्मस्थलसम्वन्धी भ्रमहरु हटाउनका लागि सम्वन्धित देशका प्रमुखहरुलाई समेत अनुरोध गर्नेछौं।

उनले आगामी आर्थिक वर्षको बजेटमार्फत ‘बुद्ध सर्किट’ अर्थात परिक्रमापथको विकास गर्ने योजना अघि बढ्ने बताए।

''लुम्बिनी: भगवान वुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमी'' भन्ने नारा रहेको सम्मेलनले नेपाललाई बौद्ध दर्शन र विश्व शान्तिको केन्द्रको रुपमा स्थापित गर्ने लक्ष्य रहेको आयोजकको भनाइ छ।