इजिप्ट एयरको विमान ‘रेडारबाट बेपत्ता’

  • 19 मे 2016
इजिप्टएअर तस्वीर कपीराइट Reuters
Image caption हराइ रहेको विमान एअरबस ३२० भएको बताइएको छ।

६६ यात्रु सहित प्यारिसबाट कायरोतर्फ उडिरहेको इजिप्ट एयरको विमान रेडारबाट वेपत्ता भएको अधिकारीहरुले बताएका छन्।

एअरबस ए३२० विमान पूर्वी भूमध्यसागरस्थित इजिप्टको हवाई क्षेत्रमा प्रवेश गरेपछि हराएको थियो।

इजिप्टको सेनाले उक्त विमानले संकटमा फँसेको संकेत पठाएको भन्ने विवरणहरुको खण्डन गरेको छ।

खोजी जारी

सो विमानमा ३ नाबालकसहित ५६ जना यात्रुहरु, सात चालक दलका सदस्य र तीन सुरक्षाकर्मी रहेको जनाइएको छ।

इजिप्ट एयरले यात्रुहरुमध्ये ३० जना इजिप्टेली, १५ जना फ्रेन्च र एकजना ब्रिटिश नागरिक रहेको बताएको छ।

यसैगरि दुई ईराकी साथै क्यानेडा, बेल्जियम, कुवेत, साउदी अरेबिया, अल्जेरिया, सुडान, चाड र पोर्चुगलका नगरिक पनि रहेको उल्लेख गरेको छ।

हराईरहेको विमानको ग्रीस र इजिप्टका सशस्त्र बलले खोजी गरिरहेका छन्।

फ्रान्सले खोजलाई सहयोग पुर्याउन डुंगा तथा विमान खटाएको जनाएको छ।

सम्पर्क विच्छेद

एक ग्रीक अधिकारीले एएफपी समाचार संस्थालाई उक्त विमान ग्रीकको कार्पेथस टापुबाट १३० नटिकल माइल दक्षिणमा दुर्घटना भएको बताएका छन्।

तर त्यसको पुष्टी हुनसकेको छैन।

पूर्वी भूमध्यसागर क्षेत्रमाथिबाट हराउनु अघि सो विमान ३७ हजार फिटको उचाइमा उडिरहेको बताइएको छ।

एक अधिकारीका अनुसार कायरोको स्थानीय समय अनुसार २ बजेर ४५ मिनेटदेखि सो विमानको रेडारसँगको सम्पर्क विच्छेद हुन पुगेको थियो।