लुम्बिनीमा भारत र चीनको लगानी नगण्य

  • 20 मे 2016
तस्वीर कपीराइट Surendra Phuyal

गौतम वुद्धको जन्मस्थल लुम्बिनीको विकासका लागि छिमेकी मुलुक भारत र चीनले उत्तिकै चासो दिने गरेको भनी सरकारी स्तरबाट बरोबर प्रचार गरिंदै आएको भएपनि लुम्बिनीमा अहिलेसम्म ती दुवै मुलूकको उपस्थिति भने नगण्य रहेको छ।

सरकार र लुम्बिनी विकास कोषवीच समन्वय हुन नसक्दा ती मुलुकवाट लगानी भित्राउन लुम्बिनी विकास कोषले नसकेको विश्लेषण विज्ञहरुले गर्दै आएका छन्।

भारतले बनाएको एक संग्राहालय र चिनीयाँ लगानीमा बनेको बौद्ध गुम्बा वाहेक चीन र भारतले लुम्बिनीमा अरु केही लगानी नगरेको लुम्बिनी विकास कोषले जनाएको छ।

लगानी कति?

अहिलेको बजार मुल्य अनुसार संग्रहालयमा भारत सरकारले करीव २० करोड रुपिँया लगानी गरेको छ भने चीनले गुम्बामा अरु थप केही करोड लगानी गरेको हुनसक्ने लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङ वताउछन्।

उनले भने, "त्यो लुम्बिनी संग्रहालय भारत सरकारले हामीलाई दिएको हो। त्यो वाहेक एउटा ट्रयाक्टर चांही दिएको छ। चीनको त त्यति पनि छैन। उनीहरुले आफ्नै विहार बनाएको हो। अनि मायादेवी मन्दिरको चार पाँच लाख जतिको टाएल विछ्याएको हो।"

कोषका पुर्व सदस्य सचिव रामलाल श्रेष्ठका विचारमा लुम्बिनीको विकासमा भारत र चीनको संभावित लगानीलाई लिएर पटक पटक चर्चा सुनिदै आएको भएपनि सरकारी उदासीनताले गर्दा नै लगानी जुट्न नसकेको हो।

उनले भने, "सरकार लुम्बिनी विकास कोष बनाइ दिएको छु, त्यसैले मेरो दायित्व कहाँ छ भनेर पन्छिन खोज्छ। अनि लुम्बिनी विकास कोषमा यस्तो टिम जान्छ कि त्यसले विकासको लागि जे काम गर्नु पर्ने हो त्यो गर्न सक्दैन।"

श्रेष्ठका अनुसार नेपाल सरकारको तर्फबाट लुम्बिनीमा लगानी गर्न भनेर अहिलेसम्म पनि ती दुई मुलुकलाई औपचारिक प्रस्ताव गएको छैन, जबकि ती मुलूकले विकास कोषको भन्दा सरकारी प्रस्तावलाई नै वढी महत्व दिन्छन्।

उनी भन्छन्, "चीन र भारत जस्ता राष्ट्रहरुले सरकारी तहबाट नै प्रस्तावको चाहना राख्छन् तर सरकारले त्यस्तो आधिकारिक प्रस्ताव हालेकै छैन।"

चर्चा

लगानीको कुरा गर्दा पछिल्लो पटक संचार माध्यमहरुमा लुम्विनी जोड्ने रेलमार्गको चर्चा जोडतोडले उठ्दै आएको छ।

भारतले ४ वर्षअघि नै भारतको कुशीनगरवाट लुम्बिनी जोड्ने रेलमार्ग वनाउन प्रस्ताव गरेको वताइएपनि काम अगाडी बढ्न सकेको छैन।

चीनले यसैवर्षदेखि काठमाण्डूबाट पोखरा हुदै लुम्बिनी जोड्ने रेलमार्गका लागि संभाव्यता अध्ययन थाल्ने वताइएको छ।