'बुद्ध जन्मस्थलको महत्वकासाथ विकास गरिने'

  • 21 मे 2016
तस्वीर कपीराइट .
Image caption बौद्ध सम्मेलनमा बुद्ध दर्शनबारे १० बुँदे लुम्बिनी घोषणापत्र जारी गरिएको छ

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आझ एक विशेष कार्यक्रमको आयोजना गरी २५६० ओ बुद्ध जयन्ती मनाइएको छ ।

सोही अबसरमा दुई दिनसम्म काठमाडौंमा चलेको अन्तराष्ट्रिय बौद्ध सम्मेलनले पारित गरेका लुम्बिनीको विकास तथा बौद्ध दर्शन सम्बन्धी प्रस्तावहरु लुम्बिनी घोषणापत्र भन्दै सार्वजनिक गरिएको थियो ।

बुद्धजयन्ती समारोहको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिईन्।

सान्दर्भिक

उद्घाटन सभामा बोल्दै राष्ट्रपति भण्डारीले सबै मिलेर यो पवित्र स्थानको चौतर्फी विकासमा लागि पर्नुपर्ने बताईन्।

उनले भनिन्, “गौतम बुद्धले प्रतिपादन गर्नुभएको शान्ति, भातृत्व, अहिंसा र करुणाको सन्देश आजको हिंसा, गरिबी, द्वन्द्व र अशान्तिले आक्रान्त विश्वकामाझ बढी सान्दर्भिक रहेको छ।”

बुद्ध जयन्ती सामान्यतया यसअघिका वर्षहरुमा मनाईए भन्दा खासै फरक नदेखिए पनि राष्ट्रपति प्रधानमन्त्री केपी ओली, पुर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड लगायत करिब आधा दर्जन मन्त्री तथा प्राय सबै सुरक्षा निकायका प्रमुखहरु जम्मा गराएर कार्यक्रमलाई केही विशेष खालको बनाउने प्रयास आयोजक लुम्बिनी विकास कोषले गरेको देखिन्थ्यो।

जुन कार्यक्रममा विभिन्न देशका कुटनीतिक अधिकारीदेखि लिएर बौद्ध सम्मेलनमा भाग लिन आएका प्रतिनिधिहरुको पनि सहभागिता थियो ।

प्रतिवद्ध

कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी ओलीले लुम्बिनीको विकास देखिने गरी गर्नका लागि सरकार प्रतिवद्ध भएको बताए।

उनले भने, “यसको गुरुयोजनालाई अगाडि बढाउने सन्दर्भमा र यसलाई प्रभावकारी ढंगले कसरी साँच्चै बुद्धको जन्मथलोको रुपमा अगाडि बढाउन सकिन्छ। त्यस रुपमा विकास गर्ने कुरामा अहिलेको सरकारको ध्यान छ।”

सोही समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्दप्रसाद पोखरेलले काठमाडौंमा सम्पन्न अन्तराष्ट्रिय बौद्ध सम्मेलनले पारित गरेका प्रस्तावहरु सार्वजनिक गर्दै नेपालका बुद्ध सम्वन्धि महत्पूर्ण स्थानको एकिकृत विकास गरिने बताए।

उनले भने, “भगवान बुद्ध र नेपालको लुम्बिनी स्थित कपिलवस्तुमा रहेका अन्य महत्वपुर्ण स्थानका निम्ति बृहत्तर लुम्बिनी विकासको सपनालाई मूर्तरुप दिइनेछ।”

कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुन, अमेरिकी राष्ट्रपति बराक ओबामा, बेलायतका प्रधानमन्त्री डेबिड क्यामरनलगायतले पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो।