सत्तापक्ष-कांग्रेस-मोर्चाको संयुक्त बैठक आव्हान

  • 23 मे 2016
Image caption ठूलो जनधनको क्षति पुगेपछि मधेशी मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरेको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग औपचारिक संवाद अवरुद्ध भएको लामो समयपछि उसँगै प्रमुख प्रतिपक्षी सहितको त्रिपक्षीय बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार मोर्चाका माग संबोधनबारे छलफल गर्न बैठक डाकिएको हो।

सरकार र आन्दोलनकारीबीच सम्बन्ध चिसिदै र आरोप-प्रत्यारोप बढ्दै गएको बेला प्रधानमन्त्रीले संवादको निम्ति अग्रसरता लिएको देखिएको छ।

उपप्रधानमन्त्री कमल थापा नेतृत्वको टोलीसँगको वार्तामा विराम लागेको लामो समय भइसकेको थियो।

मतभेद

प्रदेश सीमाङ्कनबारेको विवाद मिलाउन उनको नेतृत्वको समिति गठन भएको तीन महिना बितिसकेको छ।

बैठकले वार्ताको बाटो खोल्ने सम्भावनाबारे सद्भावना पार्टीका महासचिव मनिष सुमनले भने, "शहीद घोषणा, मुद्दा फिर्ता र घाइतेको उपचारको सबै काम सरकारले गरेको छैन, तर मोर्चा वार्ता र संवादबाटै समस्या सुल्झाउन चाहन्छ।"

उनले बैठकमा जानेबारे निर्णय हुन बाँकी रहेको बताए।

तर संघीय समाजवादी फोरम नेपाल बैठकमा जाने मनस्थितिमा छैन।

सो दलका नेता अशोक राईले भने, "वार्ताको वातावरण नै बनेको छैन, भिन्न परिवेशमा कुरा गर्न खोजिएको हो भने पनि निम्तो छैन, त्यसैले बैठकमा जाने त कुरै भएन।"

सहमतिमै

तर प्रधानमन्त्रीका प्रेस सल्लाहकारले मोर्चाकै नेताहरुसँगको छलफलपछि बैठक राखिएको बताए।

उनले भने, "प्रधानमन्त्रीले सोमबार कुनै कार्यक्रम नराखेर मोर्चाकै नेताहरुसँग कुराकानी गर्नु भयो, उहाँहरुकै सहमतिमा बैठक डाकिएको हो।"

मोर्चा सम्मिलित संघीय गठबन्धनले अहिले काठमाण्डू केन्द्रित आन्दोलन गरिरहेको छ।

मोर्चालाई मात्र आमन्त्रण गर्दा त्यहाँ भित्र किचलो बढ्ने पो हो कि?

सद्भभावना पार्टीका महासचिव सुमनले गठबन्धनलाई समेत ध्यानमा राखेर कुरा गर्ने बताउँदै त्यस्तो सम्भावना अस्वीकार गरे।

कतिपयले मोर्चाका नेताका फरक धारणालाई उनीहरुबीचको मतभेदको संकेत ठानेका छन्।