३ सय ५० भन्दा बढी आरोही सगरमाथा शिखरमा

  • 24 मे 2016
khumbu तस्वीर कपीराइट SPL
Image caption यो याममा ३ सय ५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्।

दुई वर्षको अवरोध पश्चात यसपटक सञ्चालन भएको सगरमाथा आरोहणको अहिले जारी याम लगभग सकिन लाग्दा ३ सय ५० भन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले विश्वको सबैभन्दा अग्लो चुचुरो टेकेको अधिकारीहरुले जनाएका छन्।

आरोहणको क्रममा तीन जनाले ज्यान गुमाएको र केही अझै हराइरहेको बताइएको छ।

सगरमाथाबाट फर्किने क्रममा भएका दुर्घटना पछाडि आरोहीहरुले गर्ने हेलचेक्य्राइँ प्रमुख कारण रहेको अधिकारीहरु बताउँछन्।

सुखद

दुई वर्ष अगाडि गएको हिमपहिरोमा १६ जना र गतवर्षको भूकम्पका कारण गएको हिमपहिरोमा कम्तीमा १२ जना पथप्रदर्शकहरुको निधन भएपछि स्थगित सगरमाथा आरोहण यसपालि त्यस्ता समस्या नआउने आशासहित सुरु भएको थियो।

स्वदेशी र विदेशी गरी ६ सय भन्दा बढीले आरोहण अनुमति लिएकोमा आरोहणको मौसम सकिन लाग्दा ३ सय ५० भन्दा बढीले विश्वको सर्वोच्च शिखर चुमिसकेका छन्।

पर्यटन मन्त्रालय मातहतका आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठ यसलाई सफल याम मान्छन्।

उनी भन्छन्,"समग्रमा ठीक छ। सन् २०१३ मा क्याम्प टु मा पथ प्रदर्शकहरुबीच समस्या भयो। हिंउ पहिरो र भूकम्पले अर्को दुई वर्ष आरोहण हुन सकेन। अहिले अवस्था फेरि सामान्य भएको देखिन्छ।" यो हप्तासम्ममा थप केही आरोही चुचुरोमा पुग्ने क्रममा रहेको बताइएको छ।

कारण

यस याममा आरोहणकै क्रममा तीन जना आरोहीको ज्यान गएको छ भने अन्य दुई जना अझै हराइरहेका छन्। चुचुरोमा पुगेर फर्किने क्रममा उक्त दुर्घटना भएको बताइएको छ।

अधिकारीहरुका अनुसार त्यस्ता दुर्घटनाको एउटा प्रमुख कारण तल झर्ने बेलामा आरोहीहरुले गर्ने हेलचेक्य्राइँ पनि एक हो।

सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले भने," पहिलेदेखि कै इतिहास हेर्दा धेरै चाहिं आफ्नै लापरवाहीले दुर्घटना भएको छ। सगरमाथा चढ्नुमात्र ठूलो कुरा होइन। फर्किंदा पनि ध्यान पुर्याउनु महत्वपूर्ण हुन्छ। कतिपय अवस्थामा ट्रेकिङ कम्पनीहरुले सस्तोमा सम्झौता गर्दा पनि समस्या भएका छन्।"

तर सरकारले राजश्व लिए अनुरुप हिमाल आरोहणको क्षेत्रमा पर्याप्त लगानी नगरेको धारणा ट्रेकिंग व्यवसायीहरुको छ।

यद्यपि ज्यान जोखिममा राखेर विश्वको सबैभन्दा अग्लो स्थानमा उभिने यो कठिन कार्यमा यसपालिको आरोहणयामसंगै नेपाली हिमाल बारे सकारात्मक सन्देश जाने विश्वास उनीहरुको छ ।