सर्वोच्चद्वारा प्रचण्डसँग जवाफ माग

  • 24 मे 2016
तस्वीर कपीराइट supreme court
Image caption अदालतका कतिपय आदेशप्रति बेलाबखत माओवादीहरुले सार्वजनिक असन्तुष्टि जनाउने गरेका छन्

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले अदालतको अवहेलना गरेको भन्ने आरोपमा सर्वोच्च अदालतले जवाफ सहित उपस्थित हुन आदेश दिएको छ।

कायममुकायम प्रधानन्यायाधीशको इजलासले तीन दिनभित्र जवाफ माग गरेको हो।

रिट निवेदक अधिवक्ता दिनेश त्रिपाठीले 'प्रचण्डले सशस्त्र द्वन्द्वकालका मुद्दालाई लिएर अदालतले आफ्ना कार्यकर्तालाई फसाउन खोजेको अभिव्यक्ति दिएर अदालतको अवहेलना गरेको' दावी गरेका छन्।

प्रतिक्रिया

सर्वोच्चका सहायक प्रवक्ता विश्वराज पौडेलका अनुसार त्यसको जवाफ दिँदा प्रचण्ड आफै उपस्थित हुन जरुरी छैन।

उनले भने, “आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक तीन दिनभित्र आफै वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ सहित उपस्थिति हुनु भन्ने आदेश भा’छ। उहाँको जवाफपछि अर्को आदेश हुन्छ।”

प्रचण्ड वा उनको दलको तर्फबाट अदालतको आदेशबारे कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन।

तर उक्त दलका सांसद अधिवक्ता रामनारायण विडारीले बेला बखत आफ्नो पार्टीको हकमा अदालत कठोर हुने गरे पनि पछिल्लो आदेश स्वाभाविक प्रक्रिया भएको प्रतिक्रिया दिए।

स्वाभाविक

उनले भने, “प्रचण्डलाई अलिअलि मानसिक यातना दिउँ न भन्ने उजुरकर्ताको उद्देश्य हुनसक्छ तर अदालतको आदेश सामान्य प्रक्रिया हो, कुनै योजना अन्तर्गत भएको होला जस्तो मलाई लाग्दैन।”

द्वन्द्वकालीन मुद्दालाई लिएर आफूहरु विरुद्ध षड्यन्त्र भइरहेको भन्दै माओवादीका विभिन्न समूहले त्यस विरुद्ध एकताबद्ध हुनु पर्ने बताउने गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वंय र उनको पार्टीले त द्वन्द्वकालीन मुद्दालाई लिएर बेला-बखत सर्वोच्च अदालतका कतिपय आदेशप्रति सार्वजनिक असन्तुष्टि जनाउने गरेका थिए।