अफगान तालीबानद्वारा नयाँ नेता घोषणा

  • 25 मे 2016
तस्वीर कपीराइट AFGHAN ISLAMIC PRESS VIA AP

पाकिस्तानमा गरिएको अमेरिकी ड्रोन हमलामा मुल्लाह अख्तर मन्सुर मारिएको केही दिनपश्चात अफगान तालीबानले आफ्नो नयाँ नेताको नाम सार्वजनिक गरेको छ।

एकजना तालीबान प्रवक्ताले हेबतुल्ला अखुन्दजादा तालीबानको नयाँ प्रमुख भएको बताए।

हेबतुल्ला अघिल्ला नेता मन्सुरका सहायक थिए। विगतमा उनी तालीबानको न्यायपालिका प्रमुख रहेका थिए।

कट्टर

विश्लेषकहरुका अनुसार कट्टर धार्मिक नेता मानिने अखुन्दजादाको नेतृत्वमा तालीबान समूहले आफ्नो नीति परिवर्तन गर्ने कमै सम्भावना छ।

गत वर्ष तालीबानका संस्थापक नेता मुल्लाह मोहम्मद ओमारको निधन पछि मन्सुरले उनको ठाउँ लिने बेला तालीबान भित्र निकै हलचल भएको थियो।

गत शनिबार पाकिस्तानको बलोचीस्तान प्रान्तमा उनको गाडीमा गरिएको हमलामा परी मन्सुर मारिएका हुन्।

मन्सुरको नेतृत्वमा तालीबानले शान्ति वार्तामा भाग लिन निरन्तर अस्वीकार गर्दै आयो।

बरु विद्रोही हमला र तिनको दुस्साहस बढ्यो।

अहिले नयाँ नेता तोकिएका अखुन्दजादा विगतमा मन्सुरका उपनेता थिए।

परिवर्तन

बीबीसी अफगान सेवाका सम्पादक वाहिद मसुद भन्छन् अखुन्दजादाको नेतृत्वमा तालीबानको कार्यशैलीमा कुनै ठूलो परिवर्तन हुने देखिंदैन।

उनी दक्षिण अफगानीस्तानस्थित तालीबानको मुख्य उपस्थिति रहेको कान्दाहार क्षेत्रका हुन्। यसअघिका मन्सुर जति उनी विवादास्पद नरहेको मसुद बताउँछन्।

उनको चयन तालीबानको शुरा भनिने परिषद सदस्यहरुले सर्वसम्मतिले गरेको तालीबानले जनाएको छ।

अखुन्दजादाका सहायकहरुमा तालीबान संस्थापक नेता मुल्लाह ओमारका छोरा मोहम्मद याकुब तथा काबुलमा थुप्रै बम विष्फोटमा आरोपित सञ्जालका नाइके सिराजुद्दिन हक्कानी तोकिएका छन्।