ब्रिटेनमा ‘खुद आप्रवसन’ बढ्यो

  • 26 मे 2016
तस्वीर कपीराइट PA
Image caption बोरिसले समस्याको समाधान ब्रिटन युरोपेली संघबाट बाहिरिनुमै रहेको बताए

ब्रिटेनमा गत वर्ष खुद आप्रवसन हालसम्मकै दोस्रो ठूलो स्तरमा पुगेको छ।

देश छाडेर जाने मानिसहरु तथा कम्तीमा एक वर्षकालागि देशभित्र आउने मानिसहरुको संख्यात्मक भिन्नतालाई खुद आप्रवसन भनिन्छ।

युरोपेली संघभित्रै पनि आप्रवसन बढेको छ।

ब्रिटेनका अध्यागमन मन्त्री जेम्स ब्रोकनसाइरले सरकार आप्रवासीलाई थेग्न सक्ने तहमा पुर्याउन प्रतिबद्ध रहेको बताए।

दावी

तर आगामी महिना हुने जनमत संग्रहमा ब्रिटेन युरोपेली संघबाट बाहिरिनुपर्छ भन्दै राजनीतिक अभियान चलाइरहेका नाइजल फराजले सामूहिक आप्रवासी आउने क्रम नियन्त्रणबाहिर रहेको दावी गरे।

सन् २०१५ मा ब्रिटेन प्रवेश गर्ने आप्रवासीहरुको संख्या ३ लाख ३३ हजार पुगेको त्यहाँको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ, जुन अहिलेसम्मको अभिलेखमा दोस्रो ठूलो संख्या हो।

आउँदो जुनमा हुने जनमत संग्रहमा ब्रिटेनलाई युरोपेली संघबाट बाहिर ल्याउनुपर्ने भन्दै अभियान गरिरहेका लण्डनका पूर्व मेयर बोरिस जोनसोनले भने, "ब्रिटेनका प्रधानमन्त्री डेविड क्यामरनले ब्रिटेन युरोपेली संघकै हिस्सा हुँदा आप्रवासीको संख्यालाई १ लाख भन्दा कममा पुर्याउने भनेर हुनै नसक्ने वाचा गरेका थिए।"

बीबीसीका राजनीतिक सम्पादक लरा क्वेन्सबर्गसंग बोल्दै बोरिसले भने, प्रधानमन्त्रीले आफ्नो वाचा पुरा गर्न सक्छु भनेर अतार्किक र अस्वीकार्य कुरा गरेका थिए।

असर

बोरिसले आफू पहिला आप्रवासी समर्थक रहेपनि आप्रवासीको बढ्दो संख्याप्रति आम मानिसको सहमति नभएको भन्दै आप्रवासीको अवस्था पूर्णरुपमा आफ्नो नियन्त्रण बाहिर रहेको बताए।

अध्यागमन मन्त्री जेम्स ब्रोकनसाइरले चाहिं इयुभित्रबाट भन्दा बाहिरबाट आउने आप्रवासीहरु बढी भएको बताए।

युरोपेली संघ छोडेमा अर्थतन्त्रलाई नोक्सान पुग्ने र रोजगारीमा असर पर्नसक्ने पनि उनले बताए ।

युरोपेली संघमा बस्ने वा नबस्ने भन्ने विषयमा ब्रिटेनमा आउँदो जुन २३ तारिखमा मतदान हुँदै छ।