आइएस विरुद्धको कारबाहीमा प्रगति

  • 29 मे 2016
तस्वीर कपीराइट Reuters

इराकी सरकारी फौजले फलुजा शहरबाट इस्लामिक स्टेटका लडाकुहरुलाई धपाउने आफ्नो अभियानमा प्रगति हासिल गरेका छन्।

सम्वाददाताहरु भन्छन्, आइएसको सुरक्षाको पहिलो घेरा मानिने नजिकैको शहर अल गामामा सेनाले नियन्त्रण कायम गरेको छ।

बग्दाद भन्दा ४५ किलोमिटर पश्चिममा रहेको फलुजामा ठूलो संख्यामा विशेष लडाकु फौजहरु परिचालन गरिएको छ।

तर आइएसले फलुजाको उत्तरमा कार बम आक्रमण गरेको छ जसबाट केही इराकी फौज मारिएका छन् भने केही घाइते भएका छन्।

कारबाही

फलुजाको दक्षिणमा विद्रोहीहरुले गरेको प्रत्याक्रमण बन्दुकसहितका हेलिकोप्टरको मद्दतले विफल बनाइएको बीबीसी सम्वाददाता जिम मियुरले बताएका छन्।

तस्वीर कपीराइट AP

फलुजास्थित आइएसका कमान्डर महेर अल बिलावी अमेरिकी गठबन्धनको हवाई हमलामा गरिएको वासिङ्टनको भनाइ आएपछि पछिल्लो लडाइँ सुरु भएको हो।

अल गामामा अहिले सरकारी फौजहरुको मजबुत नियन्त्रण छ र त्यहाँ तत्कालै परिचालन हुने फौजहरु र संघीय प्रहरीहरु तैनाथ छन्।

तर उक्त क्षेत्र एकदमै सुनसान छ र एक जना पनि सर्वासाधरण देखिएका छैनन्।

कब्जा

पसलहरु जलेर क्षतविक्षत अवस्थामा छन् र भवनहरु नराम्ररी ध्वस्त देखिन्छन्।

झन्डै ५० हजार मानिसहरु अझै फलुजामा फसिरहेका छन् र उनीहरुलाई आकाशबाट पर्चा खसाएर आइएसका क्षेत्रहरुमा नजान र घरका छानामा सेतो कपडा लगाउन भनिएको छ।

संयुक्त राष्ट्रसंघले भनेको छ, कयौँ मानिसहरु भोकमरीमा परेका छन् र आइएसको पक्षमा लड्न अस्वीकार गर्दा मारिएका छन्।

इराक र सिरिया कयौँ क्षेत्रलाई आइएसले आफ्नो आधार क्षेत्र घोषणा गर्दा सन् २०१४ मा फलुजा उनीहरुको नियन्त्रणमा पुगेको थियो।

अझै पनि प्रमुख इराकी शहर मोसुल उक्त समूहको नियन्त्रणमा रहेको छ।