आप्रवास समस्या: केहिदिन यता सयौंको मृत्यु

  • 29 मे 2016
Image caption यो साता मात्रै तेह्र हजार आप्रवासीको उद्दार गरिएको छ

केहि दिन यता मात्र विभिन्न डुंगा दुर्घटनामा परि लिबियाको तट पारी भूमध्यसागरमा सातसय सम्म आप्रवासीहरु डुबेर मरेको हुनसक्ने संयुक्त राष्ट्र संघीय शरणार्थी निकायले जनाएको छ।

राष्ट्रसंघकी एकजना प्रवक्ताका अनुसार बुधबार बिहिबार र शुक्रबार समुन्द्रमा चलाउनै नमिल्ले किसिमका डुंगाहरुमा आप्रवासीहरु लिबियाबाट युरोप पुग्ने प्रयत्न गर्दा डुबेका थिए।

बसन्तीय मौसमका कारण अफ्रिकादेखि युरोपको जोखिमपूर्ण यात्रा गर्ने मानिसहरुको संख्या ह्वात्तै बढेको छ।

ग्रीस जान खोज्ने मानिसको संख्या घटाउने सहमति बनेपछि अब यो नै आप्रवासीहरुका लागि मुख्य बाटो बनेको छ।

हराइरहेका

बुधबार डुबेको तस्करहरुको डुंगामा रहेका एक सय जति आप्रवासीहरु हराइरहेका छन्।

उद्दारकर्ताहरुले त्रासदीपूर्ण घटनाहरु रेकर्ड गरेका छन्।

बुधबार लिबियाको बन्दरगाह सब्रथाबाट हिँडेको र बिहिबार पल्टिएको डुंगामा रहेका ५५० जति आप्रवासीहरु पनि हराइरहेका छन्।

कति हराए?

बाँच्न सफलहरुले उक्त डुंगामा इञ्जिन नरहेको र दोश्रो तस्करहरुको डुंगामा डोरी बाँधेर तानिएको थियो भनेका छन्।

शुक्रबार भएको पानीजहाज दुर्घटनामा १३५ जनाको उद्दार गरिएको थियो ४५ वटा शव निकालिएको थियो भने कति हराइरहेको हुन् भन्ने यकिन छैन।

यसैबीच एमएसएफ सी ग्रुपले गत हप्ता मात्रै नौ सय जतिको मृत्यु भएको हुनसक्ने बताएको छ।

जीवितहरुलाई इटलीको टारान्टो र पोज्जालो बन्दरगाहमा लगिएको छ।

यसैबीच इटलीका अधिकारीहरुले भनेका छन् लिबिया पारीबाट ६०० जनाको शनिबार उद्दार गरिएको छ र यसले गत हप्ताभरि उद्दार गरिनेहरुको संख्या १३ हजार पुगेको छ।

भूमध्यसागरमा निगरानी राख्न खटेका बहुराष्ट्रिय समुहले ति उद्दारकार्य गरेका हुन्।