बजेट छरपष्ट छैन: अर्थ मन्त्री

  • 29 मे 2016
तस्वीर कपीराइट bbc

ठूलो आकारको बजेट ल्याएर जथाभावी पैसा छरपष्ट पारेको भन्ने गुनासा सत्य नभएको भन्दै अर्थ मन्त्री विष्णु पौडेलले बजेटले महंगी नबढाउने बताएका छन्।

यस वर्षको बजेटमा उल्लेखित रकम जति खर्च हुने अनुमान छ त्यसको तुलनामा साउनदेखि लागू हुने नयाँ बजेटले छुट्ट्याएको रकम झण्डै पचास प्रतिशतले धेरै भएको भन्दै थुप्रै आलोचना भएपछि आईतबार अर्थमन्त्री पौडेलले त्यसको खुलेर प्रतिरक्षा गरे।

बजेटको भोलिपल्ट परम्परागत रुपमै गरिने पत्रकार सम्मेलनलाई उपयोग गर्दै मन्त्री पौडेलले बजेट स्पष्ट रहेको र पाई पाईको हिसाब दिन सकिने बताए।

“म यो बजेट अन्तर्गत विनियोजन गरिएको एक, एक पैसाको हिसाबको औचित्य देखाउन सक्छु। यो छरपष्ट छैन,” उनले भने।

आरोप

खासगरी निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा सांसदहरुलाई छुट्ट्याइएको रकम बजेटले दोब्बर पारेपछि मन्त्री पौडेलमाथि जथाभावी रकम बाँड्न खोजेको आरोप पनि लागेको छ।

त्यसको जवाफ दिंदै उनले भने, “यो पैसा सांसदलाई घर खर्चका लागि वा क्यासिनोमा जुवा खेल्न दिने लागेको होइन। यो त सांसदले सम्बन्धित गाउँ, नगर र जिल्ला परिषदले पारित गरेको योजनामध्येबाट प्रत्येकलाई कम्तीमा १० लाख खर्च गर्ने गरी बढीमा ३० वटा योजना छान्नेछन्।”

त्यसरी छानिएका योजना जिल्ला विकास समितिले कार्यान्वयन गर्ने र त्यसको अनुगमन सांसदहरुले गर्ने गरी विधि प्रकृया निर्धारित रहेको उनले बताए।

त्यसैगरी वृद्ध भत्ताजस्ता सामाजिक सुरक्षाका विषयमा नयाँ संविधानले तोकेको कर्तव्य पालना गर्न खोजिएको उनको भनाई थियो।

तलब वृद्धि, ठूलो सरकारी खर्चको अनुमान जस्ता विषयले महंगीमा असर पर्ने चिन्ता धेरै अर्थविदले गरेका छन्।

त्यसको स्पष्ट जवाफ सरकारले दिएको त छैन तर कृषि उत्पादनमा यसपाली अतिरिक्त ३० अर्ब आम्दानी गरिने र आपूर्ति सबल पारेर महंगी दर साढे सात प्रतिशतमा रोक्ने योजना अर्थ मन्त्रीले सुनाए।