इराकी सेनाद्वारा फलुजामाथि आक्रमण शुरु

  • 30 मे 2016
तस्वीर कपीराइट Reuters
Image caption फलुजालाई पुनः नियन्त्रणमा लाग्ने समयावधि बारे सेनाले केही बताएको छैन।

इराकी सेनाले तथाकथित इस्लामिक स्टेटको अखडा रहेको फलुजामाथि कब्जा गर्ने गरी आक्रमण शुरु गरेको बताएको छ।

सन् २०१४ देखि उक्त जिहादी समूहको कब्जामा रहेको फलुजा फेरि आफ्नो नियन्त्रणमा फर्काउनका लागि सरकारले सैनिक कारवाही शुरु गरेको एक हप्तापछि पछिल्लो आक्रमण शुरु गरेको हो।

उक्त शहरमा ५० हजार सर्वसाधारण फँसेको अनुमान गरिएको छ र केही सय परिवार मात्रै त्यहाँबाट उम्कन सफल भएका छन्।

संयुक्त राष्ट्रसंघले उक्त नगरमा भोकमरीका कारण मानिसहरुको मृत्यु भईरहेको र आइएसका लागि लड्न अस्वीकार गरेकोमा मानिसहरु मारिएका खबर पाएको बताएको छ।

भिडन्त शुरु

एउटा आधिकारिक वक्तव्यका अनुसार प्रतिआतंकवादी विभागका सदस्य लगायत सरकारी फौज धेरै ठाउँबाट उक्त नगरभित्र प्रवेश गरिरहेका छन्।

तस्वीर कपीराइट AP
Image caption सन् २०१४ को जनवरीमा इस्लामिक स्टेटले फलुजामाथि नियन्त्रण कायम गरेको थियो।

इस्लामिक स्टेटले आत्मघाती आक्रमण र कारबममार्फत त्यसको सामना गरिरहेको बताइएको छ।

बग्दादस्थित बीबीसीका जिम म्योर भन्छन्, सेनाले आफ्नो लक्ष्यतर्फ बढिरहेको बताएको छ तर भिडन्त भने फलुजा नगर बाहिरका आइएसका प्रतिरक्षा क्षेत्रमा केन्द्रित देखिएको छ।

त्यहाँ संलग्न सैनिक नेताले नगरमा आक्रमण थाल्नुअघि सर्वसाधारणलाई भाग्ने मौका दिनलाई केही समय भिडन्त स्थगित गर्ने बताएका छन्।

सन् २०१४ को जनवरी महिनामा आइएसले फलुजामाथि कब्जा गरेको थियो, जुन पछि इराक र सिरियाका केही क्षेत्रमा आफ्नो क्यालिफेट बनाएको घोषणा गरेको उक्त समूहका लागि महत्वपूर्ण क्षण थियो।

मोसुल र फलुजा इराकमा आइएस नियन्त्रित दुई महत्वपूर्ण नगर हुन्।