हजयात्रा: इरान र साउदी अरेबियाबीच विवाद

  • 30 मे 2016
iran तस्वीर कपीराइट
Image caption इरानी नेताहरुले साउदी अरेबियामाथि आफ्ना चिन्ताहरु सम्बोधन नगरेको आरोप लगाएका छन्

साउदी अरेबिया र इरान हज तीर्थयात्राबारेको आपसी विवाद सुल्झाउन विफल भएका छन्।

योसंगै तेहरानले यस वर्ष आफ्ना कोही पनि नागरिक हजयात्राका लागि साउदी अरेबियाको मक्का नजाने बताएको छ।

आरोप

इरानी संस्कृतिमन्त्री अलि जन्नातीले साउदी अरेबियाले अवरोधहरु सिर्जना गरेको बताए।

साउदी अरेबियाले भने इरानले अस्वीकार्य शर्तहरु राखेको जनाएको छ।

गत वर्ष हजयात्राका क्रममा भएको भागदौडमा सयौं तीर्थयात्री मारिएका थिए जसमध्ये अधिकांश इरानी थिए।

दुई क्षेत्रीय प्रतिद्वन्द्वीहरु साउदी अरेबिया र इरान थुप्रै मुद्दामा विभाजित छन् र गत जनवरीयता उनीहरुले एकअर्कासंगको सम्बन्ध तोडेका छन्।

इरानी तीर्थयात्रीको सुरक्षा र सम्मानसम्बन्धी मागहरु साउदी अरेबियाले सम्बोधन नगरेको तेहरानको भनाइ छ।

तर रियाद भन्छ, इरानीहरुले प्रदर्शन गर्न पाउनुपर्ने लगायतका अस्वीकार्ये मागहरु राखेका छन्।

प्रतिवाद

साउदी विदेश मन्त्री अदेल अल जुबेरले भने, "यो वर्ष इरानले यो समझदारीपत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेको छ। उसले कुनै खालको प्रदर्शन गर्न पाउनुपर्ने माग राखेको छ जुन कुरा हाम्रो नियमित संरचनाबाहिरको विषय हो। यसले हजका क्रममा अराजकता निम्त्याउने छ"।

पछिल्लो तीन दशकमा इरानले हज बहिस्कार गरेको यो पहिलो घटना हो।

साउदी अरेबिया जान प्रवेशाज्ञा र उडानहरु प्रमुख समस्याका रुपमा हेरिएको छ।

गत वर्ष ६० हजारजति इरानी हजयात्रामा सहभागी भएका थिए।

सिरिया र यमनमा परस्पर विरोधी गुटहरुलाई समर्थन गर्दै आएका साउदी अरेबिया र इरानबीच अहिले सम्बन्ध थप बिग्रिएको रुपमा पछिल्लो घटनालाई हेरिएको छ।