मलेसियामा अध्यागमनका १५ कर्मचारी बर्खास्त

  • 31 मे 2016
तस्वीर कपीराइट AP

मलेसियाले एउटा संगठित गिरोहसँग सम्बन्ध भएको आरोप लगाउँदै अध्यागमनका १५ जना कर्मचारीहरुलाई सेवाबाट बर्खास्त गरेको छ।

सयौं मानिस संलग्न भएको हुन सक्ने उक्त गिरोहले गत दुई वर्षदेखि कम्प्युटरमा आधारित आप्रवासी निगरानी प्रणालीमा गैरकानुनी हस्तक्षेप गरी केही विदेशीहरुलाई बिना निगरानी देशभित्र प्रवेश गर्न दिएको आरोप लगाइएको छ।

कम्प्युटरमा आधारित राहदानी जाँचबुझ प्रणालीमा गैरकानुनीरुपमा व्यवधान उत्पन्न गरेको अभियोगमा १५ जना कर्मचारीलाई बर्खास्त गरिएको हो।

अन्य ६५ जनालाई अन्यत्र सरुवा गरिएको छ भने सम्पूर्णरुपमा नयाँ कर्मचारीहरुको समूहले अब अध्यागमन केन्द्रहरुको निगरानी गर्नेछन्।

आशंका

मलेसियाका विमानस्थलहरुमा नियमितजसो कम्प्युटर प्रणाली बन्द हुने र त्यस्तो घटना केही विदेशीहरुलाई उनीहरुको आपराधिक पृष्ठभूमिको जाँच नगरेरै सुरक्षा घेराबाट बाहिरिन दिन सकिने गरी हुन थालेको आशंकामा गत महिना अधिकारीहरुले अनुसन्धानको घोषणा गरेका थिए।

त्यस्तो अनुसन्धानपछि एउटा आपराधिक गिरोहको बारेमा पत्ता लागेको र त्यसमा एक सय जनासम्म अध्यागमन अधिकारीहरु संलग्न भएको हुन सक्ने थाहा भएको थियो।

अनुसन्धानकर्ताहरुले ती अधिकारीहरुले निश्चित उडानहरु मलेसिया अवतरण हुनुअघि जानाजान राहदानी जाँच्ने प्रणाली अवरुद्ध पार्ने र त्यो समय पारेर अज्ञात विदेशीहरुलाई बिना कुनै निगरानी देशभित्र प्रवेश गर्न दिने गरेको आरोप लगाएका छन्।

बीबीसीकी सम्बाददाता सिलिया ह्याटन भन्छिन्, देशको राहदानी परीक्षण प्रणाली दुई वर्ष अघिदेखि नै गैरकानुनी हस्तक्षेपको शिकार भएको हुन सक्ने मलेसियाली अधिकारीहरुले बताएका छन्।

त्यसरी अस्थायीरुपमा कम्प्युटर प्रणाली बन्द गरेर मानवतस्करहरु र आतंकवादी सञ्जालका सदस्यहरुले फाइदा उठाएको हुन सक्ने मलेसियाली अधिकारीहरुले अनुमान गरेका छन्।