‘राष्ट्रिय सहमति भएमात्र नेतृत्व छाडने’

  • 31 मे 2016
तस्वीर कपीराइट Uma Bista

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको अर्को सरकार बनाउन सरकारको नेतृत्व नछाड्ने उनीनिकट एकजना नेताले बताएका छन्।

तर सहमतीय सरकार बन्ने निश्चित भएमा प्रधानमन्त्री पद त्याग्न तयार रहेको नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीको भनाइ छ।

यसअघि ओलीसँग प्रधानमन्त्रीको चुनावमा प्रतिस्पर्धा गरेको नेपाली कांग्रेसभित्र अहिले राष्ट्रिय सहमतिको सरकारको पक्षमा आवाज चर्को सुनिन थालेको छ।

नेता ज्ञवाली भन्छन्, “कांग्रेसले आफ्नो पुरानो नीतिमा पुनर्विचार गरेर सहमतिको आधारमा अघि बढ्न तयार भएको हो भने मुख्य राजनीतिक दलहरुबीच नयाँ ढंगको समझदारी बन्न सक्छ।”

अर्थ

उनका अनुसार त्यस्तो अवस्थामा प्रधानमन्त्री पद त्याग गर्न तयार छन्।

एमाले र माओवादी केन्द्रबीच ९ बुँदे सहमति हुँदा भएको भनिएको अलिखित समझदारीले अहिले राजनीतिक बजार तताएको छ।

भद्र भनिएको समझदारी के भएको हो?

राष्ट्रिय सहमतिको सरकार बनाउन तराई केन्द्रित दल र कांग्रेससँग ‘गम्भीर’ वार्ता अघि बढाउने कुरा भएको जानकारी दिँदै नेता ज्ञवाली भन्छन्, “राष्ट्रिय सहमतिको सरकार बन्ने आधार छैन र त्यसमा कांग्रेस तथा तराई केन्द्रित दल सहभागी हुँदैनन् भने सरकार परिवर्तनको अर्थ के हुन्छ र?”

प्रचण्ड तयारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिको खाँचोमा जोड दिँदै आएका छन्।

मंगलबार राप्रपाको स्थापना दिवसको कार्यक्रममा उनले भने, “राष्ट्रिय सहमति बन्यो र त्यतिबेला जिम्मेवारी लिनुपर्यो भने हामी तयार हुनुपर्छ।”

त्यसको निम्ति प्रचण्डले कांग्रेसको साथ जुटाउनुपर्ने छ।

तर कांग्रेस नेता गोपालमान श्रेष्ठ भन्छन्, “हालसालै प्रचण्डजीले समर्थन खोज्नुभयो हामीले दियौँ तर उहाँले झुक्याउनु भो, राजनीतिक बेइमानी गर्नु भो, त्यसले गर्दा अहिले उहाँमाथि भर पर्ने अवस्था भएन।”

कांग्रेसले वर्तमान सरकार ढाल्ने स्वार्थ पूरा गर्न प्रचण्डलाई साथ दियो भने सत्ता परिवर्तनको सम्भावना हुनसक्छ।

तर प्रचण्डले एमालेलाई बेवास्ता गर्दै कांग्रेससँग लहसिएमा सरकार बाहिरै बस्ने निहुँ एमालेले पाउन सक्छ, त्यससँगै सहमतिको सरकार बन्ने सम्भावना अन्त्य हुनेछ।