मातृभाषाको आकर्षण घट्नुको कारणबारे विवाद

  • 1 जुन 2016
शिक्षा मन्त्रालय
Image caption सरकारी नीति प्रभावकारी नभएकोले मातृभाषाको पढाइ राम्रोसँग हुन नसकेको भन्दै मातृभाषा विज्ञले आलोचना गरेका छन्।

बहुजातिय एवं बहुभाषिय नेपालमा जारी पहिचानको आन्दोलनसंगै मातृभाषामा पढाइ हुनु पर्छ भनेर पहिचानवादीहरुले माग गरिरहेका छन् तर कयौं स्थानमा अभिभावक तथा विद्यार्थीहरुमा मातृभाषाको मोह कम पाइएको छ।

उदाहरणको लागि मिश्रित नेपाली समुदायको बसोबास रहेको पुर्वी नेपालको पाँचथर र धरानमा अधिकांस विद्यालयहरुले मातृभाषाको सट्टा अंग्रेजी भाषा पढाउन थालेका छन्।

तीन बर्षअघि धरानका सात वटा सामुदायिक विद्यालयमा प्राथमिक तहसम्म लिम्बु भाषा ‘आनीपान’ अर्थात ‘हाम्रो भाषा’ पढाइ हुन्थ्यो।

पढाउने शिक्षकसगै विद्यार्थी अभावका कारण ‘आनीपान’को सट्टामा अहिले अंग्रेजी भाषा ऐच्छिक विषयको रुपमा पढाउन थालिएको छ।

'समस्या'

किरातेश्वर माध्यमिक विध्यालय धरानका प्रधान अध्यापक योगेन्द्र पालुङवा भन्छन्, "सम्वन्धित समुदायका जात-जातीका मान्छेहरुको चासोको कमी छ। ती सम्वन्धित जातका विद्यार्थीहरुको न्युन उपस्थिति छ। यी नै समस्याका कारण मातृभाषा कक्षा निरन्तर रुपमा सञ्चालन हुन सकेको छैन।"

मातृभाषाको पाठ्यक्रम नभएका कारण विद्यालयलाई मातृभाषा पढाउन झन्झटिलो हुनुका साथै मातृभाषा पढाउनकै लागि भनेर शिक्षकको दरवन्दी नभएका कारण मातृभाषा शिक्षणको प्रभावकारिता घटेको शिक्षा क्षेत्रका जानकारहरु बताउँछन्।

जिल्ला शिक्षा कार्यालय पाँचथरका अधिकृत तथा सुचना अधिकारी युगमणी सवेहाङले भने, "यसको कार्यान्वयनको अवस्था हेर्दाखेरी पाँचथरमा विगतमा भन्दा अहिले क्रमश: मातृभाषामा पठनपाठन गर्नेहरुको संख्या घट्दो क्रममा छ।”

उनका अनुसार शैक्षिक सत्र २०७१ मा १ सय ५ विद्यालयहरुमा लिम्बु भाषामा पढाइ हुन्थ्यो भने २०७२ मा पुग्दा त्यो संख्या ८२ मा झरेको थियो।

पाठ्यक्रम अनुसार प्राथमिक तहमा मातृभाषा वा स्थानीय पाठ्यक्रम विद्यालय व्यावस्थापन समितिले आफै बनाउन सक्ने प्रावधान छ।

विवाद

त्यही प्रावधान अनुरुप देशका विभिन्न विद्यालयमा प्राथमिक तहमा मातृभाषा पढाइ भइरहेको छ।

तर किरात याक्थुङ चुम्लुङका केन्द्रिय उपाध्यक्ष मलिसा याक्थुङबाले शिक्षा नीति स्पष्ट नभएकोले अधिकांश विद्यालयहरुमा मातृभाषाको अध्ययन, अध्यापन कम हुँदै गएको बताए।

उनले भने, "त्यहाँको राजनीतिक दल र नेपाल सरकारकै नीतिमा मातृभाषाबाट पढाउनेको योग्यताको क्रममा नराखिदिएपछि स्वभावैले सरकारी क्षेत्रबाट यसलाई विस्थापन गराउन लागेको देखिन्छ। तर हामी यसलाई स्वीकार्दैनौं।"

पाठ्यक्रम विकास केन्द्रका अनुसार २४ जातिको मातृभाषामा प्राथमिक तहसम्मको पाठ्यपुस्तक तयार भइसकेको छ।

विभिन्न जातिहरुको भाषा र लिपीलाइ बचाउन मातृभाषामा पढाइ हुनुपर्छ भनेर आवाजहरु उठेपनि विद्यालयमा नियमित पठनपाठन गराउने चुनौति टड्कारो देखिएको छ।