ट्रेड युनियन चुनावः मतगणना जारी

  • 1 जुन 2016
तस्वीर कपीराइट .

मुलुकमै पहिलोपटक निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन गठनका लागि बुधबार मतदान सम्पन्न भएको छ।

चुनावमा सहभागी राजनीतिक दलनिकट कर्मचारी युनियनहरुले योसँगै कर्मचारीतन्त्रभित्र देखिने गरेका विकृति एवम् विसंगतिहरु नियन्त्रण गर्न सहज हुने दाबी गरेका छन्।

तर आलोचकहरुले आधिकारिक ट्रेड युनियनको गठनले राजनीतिकरणलाई झन् संस्थागत गर्ने भन्दै त्यसको औचित्यमाथि प्रश्न उठाएका छन्।

सबै प्रमुख दलहरुको निजामती कर्मचारी संगठन अस्तित्वमा रहेको यथार्थमाझ एउटै आधिकारिक ट्रेड युनियन ‍गठन गर्ने उद्देश्यले सरकारले ७५ वटै जिल्लामै चुनाव गराएको हो।

आवश्यकता

बुधबार सम्पन्न मतदानले एउटा केन्द्रीय, ४२ वटा विभागीय र ७५ वटा जिल्ला कार्यसमिति चयन गर्ने निर्वाचनमा सहभागी कर्मचारी युनियनहरुले बताएका छन्।

आफूले पाउने मतका आधारमा पहिलो हुने संगठनले केन्द्रीय कार्यसमितिमा अध्यक्ष र कोषाध्यक्ष पद पाउने व्यवस्था गरिएको छ भने दोस्रो हुनेले महासचिव, तेस्रो हुनेले उपाध्यक्ष र चौथो हुनेले सचिव पद पाउने प्रावधान छ।

दलीय आस्थामा आधारित यतिधेरै कर्मचारी संगठनहरु हुँदा-हुँदै आधिकारिक ट्रेड युनियनको आवश्यकता आखिर किन पर्यो?

जवाफमा नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावलले भने, “कर्मचारीका पेशागत हक र अधिकारलाई सुनिश्चित गर्नका लागि एउटा आधिकारिक ट्रेड युनियनको आवश्यकता थियो,

राजनीतिले मुलुकका अधिकांश क्षेत्र गाँजिएको पृष्ठभूमिमा प्रमुख दलसँग आवद्ध कर्मचारी संगठनहरुको मुलुकको कर्मचारीतन्त्रमाथि ठूलो दबदबा रहेको आरोपहरु लाग्ने गरेका छन्।

दबाब

ती संगठनहरुले राष्ट्रसेवक भनिने कर्मचारीका नाममा राजनीति गर्ने र निजामती कर्मचारीहरुको सरुवा लगायतमा स्वार्थ अनुकूल दबाब दिने गरेको आलोचकहरु बताउँछन्।

यी र यस्ता तीतो यथार्थमाझ अब बन्ने आधिकारिक ट्रेड युनियनले कर्मचारीतन्त्रभित्रका समस्याहरुको निदानमा कुनै तात्विक भूमिका नखेल्ने कतिपयको बुझाइ छ।

यस्तै बुझाइ राख्नेमध्येका एक नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौड्याल भन्छन्, “दलीय आधारमा निजामती सेवामा जुन किसिमका क्रियाकलापहरु भइरहेका थिए त्यो चाहिँ अहिलेसम्म अघोषित अनौपचारिक थिए अब चाहिँ संस्थागत र वैधानिक बन्यो।”

काठमाण्डूस्थित प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिम्सिनाका अनुसार बुधबार सम्पन्न मतदान अन्तर्गत यो रिपोर्ट तयार पार्ने बेलासम्म ९ वटा जिल्ला र २६ वटा विभागीय कार्यसमितिको नतिजा आइसकेको छ।

मतगणना जारी रहेको र बिहीबार बिहानसम्म अन्तिम नतिजा आइसक्ने उनले बताए।