‘आर्मेनियालीहरुको हत्या आमनरसंहार’

  • 2 जुन 2016
तस्वीर कपीराइट AP

जर्मनीको संसदले अट्टोमन टर्कहरुले प्रथम विश्वयुद्धताका आर्मेनियालीहरुको गरेको सामूहिक हत्यालाई आमनरसंहार घोषणा गर्ने एउटा संकल्प प्रस्ताव अनुमोदन गरेको छ।

आर्मेनियालीहरुका अनुसार सन् १९१५ मा गरिएको अत्याचारको घटनामा १५ लाखसम्म मानिसहरुले ज्यान गुमाएका थिए।

टर्कीले उक्त संख्या त्यसभन्दा धेरै कम भएको र त्यसलाई आमनरसंहार भन्न अस्वीकार गर्दै आएको छ।

युरोप प्रवेश गर्ने आप्रवासीहरुको प्रवाह रोक्नका निम्ति युरोपेली संघ इयुले टर्कीको सहयोग चाहिरहेको बेला जर्मन संसदद्वारा संकल्प प्रस्ताव पारित गरिएको समय गलत परेको ठानिएको छ।

जोखिम

टर्कीका राष्ट्रपति रिजेप ताय्यीप एर्दोआनले जर्मन संसदद्वारा पारित संकल्प प्रस्तावका कारण दुई मुलुकबीचको सम्बन्धमा असर पार्ने जोखिम रहेको बताएका छन्।

सरसल्लाहका लागि भन्दै टर्कीले जर्मनीका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ।

राष्ट्रपति एर्दोआनले भनेका छन्, उनीहरुले ती विषयहरुमा बसेर छलफल गर्नेछन् जसले जर्मनी र टर्कीबीचको सम्बन्धमा असर पुर्याउन सक्ने सम्भावना छ।

टर्कीका प्रधानमन्त्री बीनाली युल्ड्रुमले संकल्प प्रस्तावका लागि उनकै शब्दमा जातीवादी आर्मेनियालीहरुले दबाब दिएको आरोप लगाएका छन्।

मान्यता

तस्वीर कपीराइट Reuters

आर्मेनियाका विदेशमन्त्री एडवार्ड नाल्बान्डियानले आर्मेनियालीहरुको आमनरसंहार भएको भनी “अन्तर्राष्ट्रिय मान्यताका लागि र त्यसको निन्दा गर्नका निम्ति जर्मनीको संसदले पारित गरेको संकल्प प्रस्ताव एउटा महत्वपूर्ण योगदान” भएको टिप्पणी गरेका छन्।

जर्मन चान्सलर एंगेला मर्केलले भनिन्, “कुनै एउटा विषयमाथिको धारणा फरक भएपनि धेरै विषयहरु छन् जसले जर्मनी र टर्कीलाई जोडेका छन्, दुई देशलाई जोड्ने कुरा, हाम्रो मित्रता, हाम्रो रणनीतिक सम्बन्ध ठूलो छ त्यसकारण म आफैं र सम्पूर्ण जर्मन सरकार १०१ वर्षअघि भएको घटनाबारे टर्की र आर्मेनियाबीच संवादका निम्ति योगदान पुर्याउन चाहन्छ।”

फ्रान्स र रुससहित २० वटाभन्दा बढी मुलुकका साथै पोप फ्रान्सिसले सन् १९१५ मा गरिएका हत्याहरुलाई आमनरसंहारको संज्ञा दिएका छन्।

प्रथम विश्वयुद्धका बेला एउटा जातीय समूहका रुपमा ईसाई आर्मेनियालीहरुको हत्या लागि योजनावद्ध अभियान चलाइएको आरोप अस्वीकार गर्दै आएको छ।