अलीको अन्त्येष्टि शुक्रबार

  • 5 जुन 2016
तस्वीर कपीराइट AP

मुहम्मद अलीको परिवारले दिवंगत महान बक्सिङ खेलाडीको अन्त्येष्टिका लागि विश्वभरबाट शुभेच्छकहरुलाई उनको गृहनगर लुइभिल केनटकीमा निम्तो गरेको छ।

अन्त्येष्टि समारोह आगामी शुक्रबार हुनेछ।

परिवारका एक जना प्रवक्ताले सबै तप्काका मानिसहरु आफ्नो अन्त्येष्टिमा उपस्थित होउन भन्ने चाहना अलीको रहेको बताए।

७४ वर्षको उमेरमा निधन भएका तीन पटकका विश्व ‘हेभिवेट च्याम्पियन’ अलीको सम्मानमा दिइने मन्तव्य पूर्व राष्ट्रपति बिल क्लिन्टन लगायतले वाचन गर्नेछन्।

अन्त्येष्टि

महानतम भनेर टिप्पणी गरिने अलीको अन्त्येष्टि खुल्ला ढंगले गरिने जानकारी दिदैँ अलीका प्रवक्ता बब गनलले भनेका छन्, मुहम्मद अलीको परिवारलाई विश्व उनीहरुसँगै शोकाकुल रहेको जानकारी छ।

अन्त्येष्टि समारोह लुइभिलमा हुनेछ जहाँ अलीले अमेरिकामा कायम जातीय विभाजन देखे अनि त्यस विरुद्धमा विद्रोह गरे।

गनल भन्छन, “मलाई लाग्छ आफ्नो मनको कुरा बोल्ने र जोखिम लिन नडराउने, दयालु अनि संसार बदल्न सफल विश्वको एउटा मानिसको रुपमा उनको सम्झना हुनेछ। मैले भन्न खोजेको मुहम्मद अलीले सत्तालाई चुनौती दिने जनताको शैलीमा परिवर्तन ल्याए।”

अन्तिम संस्कार समारोहमा पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र अभिनेता बिल्ली क्रिस्टल सहितले अलीको प्रशंसामा मन्तव्य दिनेछन्।

क्यालिफोर्नियामा आफ्नी श्रीमती हिलरी क्लिन्टनको चुनावी र्यालीमा बोल्दै पूर्व राष्ट्रपति क्लिन्टनले भने, “जब म सानै थिए र मैले उनले बक्सिङ खेलिरहेको पहिलोपल्ट देखे मलाई लाग्यो अब यस्तो हामीले कहिल्यै देख्न पाउँदैनौँ। उनको गति र उनको शक्ति अनि आक्रमण सबै चमत्कारिक थिए।”

बिदा

तस्वीर कपीराइट Reuters

अली आफैंले अन्त्येष्टिबारे योजना बनाएको भनिएको छ जुन समारोह अन्तरधार्मिक हुनेछ तर इस्लाम विधिलाई पनि पालना गरिनेछ।

एरिजोनामा गरिएको पत्रकार सम्मेलनमा पार्किन्सन्स रोगसँगको लडाइँपछि ७४ वर्षको उमेरमा निधन भएका अलीको अन्त्येष्टिबारे विवरणहरु सार्वजनिक गरिएको हो।

अलीका प्रवक्ताले नखुलाइएको प्राकृतिक कारणबाट संक्रमण भएपछि रक्तचाप एकदमै कम हुँदा उनको निधन भएको बताएका छन्।

आफ्नो जीवनकालमा एउटा महान विरासत तयार गरेका मुहम्मद अलीले जीवनको अन्तिम क्षणमा अस्पतालमा उपस्थित श्रीमती र छोराछोरीसँग बिदा मागेको बताइएको छ।

राजनीति

तस्वीर कपीराइट AP

उनको निधनले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावको जारी अभियानमा राजनीतिक विवाद निम्त्याएको छ।

आफ्नो श्रद्धान्जली वक्तव्यमा रिपब्लिकनका तर्फबाट सम्भावित राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले अली साँचो अर्थमा महान विजेता रहेको भन्दै सबैले उनलाई सम्झिरहने बताएका छन्।

अघिल्लो वर्ष ट्रम्पले अमेरिका प्रवेश गर्ने सबै मुसलमानहरुलाई प्रतिबन्ध लगाउने धारणा राखेपछि अलीले त्यसको निन्दा गरेका थिए।

डोमेक्र्याटिक पार्टीका एक जना उम्मेदवार बर्नी स्यानडर्सले ट्रम्पलाई ढोंगी भन्दै आलोचना गरेका छन्।

उम्मेदवारी दौडमा अगाडि रहेकी डेमोक्र्याटिक नेतृ हिलारी क्लिन्टनले अभिव्यक्ति र व्यवहार दाँजेर ट्रम्पबारे निर्णय लिनुपर्ने बताएकी छन्।