हिलरीलाई 'आवश्यक संख्या प्राप्त'

  • 7 जुन 2016
तस्वीर कपीराइट
Image caption क्लिन्टनले अग्रता लिएको खबर क्यालिफोर्नियासहित ६ वटा राज्यमा प्रतिस्पर्धा हुन लाग्दा आएको हो

अमेरिकाको राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारीका लागि हिलरी क्लिन्टनले आवश्यक ‘इलेकटोरल कलेज’का प्रतिनिधिहरुको संख्या प्राप्त गरेको बताइएको छ।

राज्यहरुमा हुने पार्टीगत चुनावमा जित्ने आकांक्षीले सम्बन्धित राज्यबाट पार्टीमा रहेका प्रतिनिधिहरुको समर्थन पाएको ठानिन्छ।

उक्त संख्या समाचार संस्था एपीले निकालेको हिसाब अनुसार पुगेको हो।

एपीले भनेको छ, यो संख्या गत सप्ताहन्तमा क्लिन्टनका प्रतिस्पर्थी बर्नी स्यान्डर्सलाई पोर्टो रिकोमा उनले हराएपछि पुगेको हो।

पहिलो महिला

अमेरिकाको मुख्य राजनीतिक पार्टीको तर्फबाट उम्मेदवारी पाउने उनी पहिलो महिला हुनेछिन्।

मनोनयनका लागि उनका प्रतिस्पर्धी बर्नी स्यान्डर्सले जुलाइमा हुने पार्टी अधिवेशनसम्म आफू दौडमा रहने मनस्थितिमा रहेको बताएका छन्।

एपीले भनेको छ, पोयर्टो रिकोमा ठूलो जीत हासिल गरेपछि र अन्तिम समयमा पार्टीभित्रका ‘सुपरडेलिगेट्स’ हरुले समर्थन गरेपछि क्लिन्टनले आवश्यक संख्या पाएकी हुन्।

एपीले जनाए अनुसार क्लिन्टनले स्यान्डर्स भन्दा तीनलाख मत, २ सय ९१ प्रतिबद्ध प्रतिनिधिहरु र ५ सय २३ ‘सुपरडेलिगेट्स’ हरुसहित अग्रता लिएकी छन्।

यो समाचार बाहिर आएपछि क्यालिफोर्नियास्थित लङ बिचमा देखिएकी क्लिन्टनले भनिन्, “हामी एउटा ऐतिहासिक र पहिला कहिल्यै नभएको क्षणको संघारमा छौं तर हामीले अझै गर्नका लागि काम बाँकी छ।”

समर्थन

उनले भनिन्, “भोलि हाम्रा ६ वटा निर्वाचनहरु छन् र हामीले प्रत्येक एक मत पाउनका लागि कठिन लडाइँ गर्नेछौं। खासगरी यहाँ क्यालिफोर्नियामा।”

मतदाताहरुले बुधबार क्यालिफोर्नियासहित मोन्टाना, न्यु मेक्सिको, नर्थ डकोटा, साउथ डकोटा र न्यु जर्सीले डेमोक्रेटिकका प्रारम्भिक मनोनयनका लागि मतदान गर्नेछन्।

सुपरडेलिगेट्सले अधिवेशन आउन लाग्दा उम्मेद्वारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् तर अधिवेशन नआउँदासम्म औपचारिक रुपमा भने मतदान नगर्ने भएका छन्।

पार्टीको आ-आफ्नो अधिवेशन नहुँदासम्म कुनै पनि पार्टीका लागि मनोनितहरु आधिकारिक रुपमा घोषणा गरिएका छैनन्।