सुंगुरभित्र मानव अंग विकास गर्ने प्रयास

  • 6 जुन 2016
Image caption सुंगुरको शरीरभित्र मानव अंगको विकास गर्ने प्रयासलाई कतिपयले विवादास्पद ठानेका छन्

अमेरिकामा वैज्ञानिकहरुले ‘जीन एडिटिङ’ विधिको प्रयोग गरी सुंगुरभित्र मानव अंगहरुको विकास गराउने प्रयत्न थालेका छन्।

उनीहरुले पाचनग्रन्थीको निर्माणका लागि सुंगुरको भ्रूणबाट डिएनएका क्रमहरुलाई हटाइरहेका छन् र त्यसको सट्टा अन्य कोषहरु निर्माण गर्ने स्टेम कोष हालिरहेका रहेका छन्।

त्यसले सुंगुरभित्र मानव पाचनग्रन्थी विकास हुन सक्ने आशा गरिएको छ।

क्यालिफोर्निया विश्वविद्यालयमा भइरहेको यो अनुसन्धानलाई केही विज्ञहरुले प्रत्यारोपणका लागि मानव अंगको अभावसँग जुध्न यसले मद्दत गर्न सक्ने विश्वास गरेका छन्।

चिन्ता

तर अन्यले केही मानव कोषहरु, विकसित भइरहेको सुंगुरको मस्तिष्कमा सर्न सक्ने भन्दै नैतिक विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन्।

क्यालिफोर्निया विश्वविद्यालयको समूह डेभिसले मानव कोषहरुले बनेको एउटा अंग बाहेककाले सामान्य सुंगुरले जस्तै व्यवहार गर्नुपर्ने र देखिनुपर्ने बताएको छ।

मानव-सुंगुर काइमेरा भ्रूण विकसित हुनका लागि गर्भधारणभन्दा २८ दिन अघि राखिनेछ र विश्लेषणका लागि तन्तुहरुलाई हटाइने छ।

मानव-सुंगुर काइमेरा भ्रूण बनाउनका लागि दुईवटा चरण हुन्छन्।

पहिलो विधिलाई सीआरआइएसपीआर जीन एडिटिंग भनिन्छ जुन डिएनए हटाउनका लागि प्रयोग गरिन्छ।

यसले गर्दा पाचनग्रन्थी विकास गर्न सघाउ पुर्याउँछ।

यसले आनुवांशिक शून्यता जन्माउँछ।

क्षमता

त्यसपछि मानव कोषहरुलाई भ्रूणभित्र हालिन्छ।

त्यस्ता मानव कोषहरु वयस्क कोषहरुबाट ल्याइएको हो जसले शरीरमा तन्तुहरु विकास गर्ने कोषहरु बनाउने क्षमता राख्छ।

सुंगुरको भ्रूणमा हुने आनुवांशिक शून्यताको मानव कोषहरुले फाइदा लिएर मानव पाचनग्रन्थी बनाउन सघाउ पुर्याउने बताएको छ।

तर यो कार्य विवादास्पद बनेको छ।

गत वर्ष अमेरिकाको मुख्य चिकित्सा अनुसन्धान संस्था न्यासनल इन्स्टिच्युट अफ हेल्थले त्यस्तो प्रयोगका लागि सहायता रकम दिन रोक लगाएको थियो।

यसमा मुख्य चिन्ता चाहिँ कुनै तरिकाले मानव कोष विकासोन्मुख सुंगुरको मस्तिष्कमा सर्नसक्छ भन्ने हो।