सेजमा ठूला उद्योगीहरुद्वारा प्रस्ताव पेश

  • 6 जुन 2016
तस्वीर कपीराइट Madhav Nepal
Image caption सरकारले निर्यातजन्य उद्योगहरु स्थापना गर्ने गरि प्रस्ताव बुझाउन उद्योगीहरुलाई आह्वान गरेको थियो

भैरहवास्थित मुलुककै पहिलो विशेष आर्थिक क्षेत्र सेजमा उद्योग खोल्न नाम चलेका दुई दर्जन उद्योगीहरुले प्रस्ताव पेस गरेको अधिकारीहरुले बताएका छन्।

निर्माणमा ढिलाईलगायत अन्य कतिपय नीतिगत झन्झटका कारण लामो समयसम्म उक्त सेज अन्योलमा थियो।

कानुनी स्पष्टता, सुलभ सुविधा तथा अन्य नीतिगत सहजता र पूर्वाधारको उपलब्धता हुने हुँदा सेजमा खासगरी निर्यातजन्य उद्योग खोल्न सरकारले आह्वान गर्दै आएको छ।

लगानीका लागि एक महिना समय दिएर दोस्रोपटक सार्वजनिक रुपमा प्रस्ताव आह्वान गरिएकोमा अन्तिम दिन २५ वटा प्रस्तावहरु परेको विशेष आर्थिक विकास समितिको कार्यालयले जनाएको छ।

मनसाय

समितिका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार यसरी प्रस्ताव पेश गर्नेहरुमा जगदम्बा, गोल्छा, पञ्चकन्या जस्ता ठूला लगानीकर्ताहरु छन्।

उनीहरुले सेजमा पनि ठूलो लगानी गर्ने मनसाय प्रकट गरेका छन्।

समितिका कार्यकारी निर्देशक भट्टले भने, “ठूला उद्योगी भनेको चाहिँ जगदम्बा आए, पञ्चकन्या र गोल्छा जस्ता कम्पनी आए, र लगानी पनि कसैको २ सय करोड, कसैको ४ सय करोड रुपैयाँ रहेको छ।”

सेजको अवधारणा अनुसार निर्यातजन्य उद्योगहरु स्थापना गर्ने गरी प्रस्ताव आह्वान गरिएको थियो।

त्यस अनुरुप भैरहवाको सेजमा कस्ता किसिमका उद्योगहरु स्थापना हुनेछन्?

जवाफमा कार्यकारी निर्देशक भट्ट भन्छन्, “२५ वटा जति परेको छ, त्यसमा कतिपय एक्लैले ४ वटासम्म उद्योग आएका छन्, त्यसमा फ्रुट, हर्बल, जिंजर प्रोसेसिङ र प्लास्टिकका उद्योग नै बढी छन्।”

सम्झौता

करिब एक वर्षअघि पनि सेजमा उद्योग स्थापना गर्न भनी मनसाय आह्वान गरिएकोमा जग्गाको चर्को भाडा र नीतिगत अन्योलता देखाउँदै लगानीकर्ताहरु उत्साहित देखिएका थिएनन्।

त्यसपछि सरकारले सेजको कार्यविधि संशोधन गरेको थियो।

अहिले त्यही संशोधनको आधारमा प्रस्ताव आह्वान गरिएको हो।

विशेष आर्थिक विकास समितिले सेजमा दुई वर्षभित्रै उद्योग स्थापना गर्ने गरी पहिलो चरणमा लगानीकर्ताहरुसँग ३० वर्षसम्म सम्झौता गर्नेछ र त्यसपछि प्रत्येक १०/१० वर्षमा नवीकरण गर्दै जाने प्रावधान छ।