बजेटपछि नयाँ परिस्थितिको सम्भावना: प्रचण्ड

  • 6 जुन 2016
प्रचण्ड र प्रमं ओली तस्वीर कपीराइट .
Image caption माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नौ बुँदै बाहेक पनि ‘सहमति’ भएको बताए

सत्ताधारी दुई प्रमुख दलबीच सरकार फेर्ने भित्री सहमति भएको चर्चाका माझ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘भद्र सहमति’ भएको बताउँदै संसदबाट बजेट पारित भएपछि त्यसले मूर्तरुप लिने बताएका छन्।

‘राष्ट्रिय सहमति बनाउन पनि कोशिस गर्ने’ भद्र सहमति भएको उल्लेख गर्दै प्रचण्डले त्यो कोशिस सफल नभए वर्तमान सरकार निरन्तर रहन सक्ने एउटा सम्भावना औंल्याए।

उनले सहमतीय सरकार नबनेमा वर्तमान सरकार बिस्थापित हुनसक्ने दोश्रो सम्भावना पनि दर्शाए।

भद्र भनिएको सहमति भएको चर्चाका माझ त्यसबारे प्रष्ट नबोलेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सोमबार पत्रकार समक्ष खुले।

स्वीकार

पोखरामा पत्रकार समक्ष उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नौँ बुँदै बाहेक पनि ‘सहमति’ भएको बताए।

सहमतिको विषयबारे उनले भने," नीति कार्यक्रम बजेट पारित भइसकेपछि नेतृत्वकोबीचमा एउटा समझदारीबाट, विश्वासबाट सरकारको बारेमा अगाडी बढ्ने, राष्ट्रिय सहमति बनाउन पनि कोशिस गर्ने भन्ने खालको समझदारी हो। मलाई जहाँसम्म लाग्छ बजेट पारित भइसकेपछि यसले मूर्त रुप लिन्छ।"

राष्ट्रिय सहमतिको सरकारको निम्ति प्रधानमन्त्री वाधक नबन्ने उनका निकटस्थहरुले बताउने गरेका छन्।

तर राष्ट्रिय सहमतिको सरकार बनाउन पनि कोशिस भनेर अर्थात उनलाई पनि जोडेर त्यो प्रयास सफल नहुने सम्भावना दर्शाउन खोजेको पाइन्छ।

राष्ट्रिय सहमतिको सरकार बनेन भने के यही सरकारले निरन्तरता पाउँछ? भन्ने पत्रकारहरुको जिज्ञाशामा प्रचण्डको जवाफ थियो," भएन भने एउटा यही सरकार पनि छंदैछ। यही जाने सम्भावना पनि रहने भयो। बजेट पारित भएपछि नयाँ परिस्थिति पनि बन्न सक्छ । तर त्यतातिर सोच्नु भन्दा यतिबेला हामी सबैको ध्यान राष्ट्रिय सहमति बनाउनेतिर नै केन्द्रित हुनु जरुरी छ। "

छैन हतारो

सँगै उनले बहुमतको सरकारको नेतृत्व गर्ने ‘रुची र हतारो’ आफूलाई नभएको बताए।

उनले बैशाख तेश्रो साता नेपाली कांग्रेसको साथ लिएर केपी शर्मा ओलीलाई विस्थापित गरेर प्रधानमन्त्री बन्ने प्रयास गरेका थिए।

तर दुई दलबीच भएको नौ बुँदे सहमतिले सरकारमाथिको संकट टरेको थियो।

त्यसैबेला भद्र सहमति पनि भएको चर्चा छ।

तर प्रचण्डले आफू र प्रधानमन्त्री दुबै भद्र भएको भन्दै त्यसबारे धेरै टिकाटिप्पणी गर्ने समय नआएको बताए।