सांगीतिक अम्बरका तारा

  • 7 जुन 2016
amber तस्वीर कपीराइट .
Image caption अम्बर गुरुङलाई लेखक तथा चलचित्रकर्मी प्रकाश सायमी 'कूटनीतिज्ञ गायक' को रुपमा पनि व्याख्या गर्छन्।

संगीतकार अम्बर गुरुङलाई निकै नजिकबाट चिन्नेहरुमध्ये लेखक एवम् चलचित्रकर्मी प्रकाश सायमी पनि पर्छन्। प्रस्तुत छ, उनै प्रकाश सायमीको सम्झनामा अम्बर गुरुङको जीवनचित्र:

अम्बर सरसंग संगीत सिक्न मैले गरेको आवेदन उहांले दुईपटक अस्वीकार गरेपनि म ‘संगीतबारे केही लेख्छु’ भनेर म उहांको पछि लागिरहें।

उहांले मलाई संगीत नसिकाएपनि मलाई किताब पढ्न, भाषा अनि जीवन जिउने कला सिकाउनुभयो।

यो क्रममा मैले उहांका धेरै ‘रिकर्डिंग’हरु हेर्न पाए।

उहांले संगीत भरेको धेरैपटक देखें।

संगीतमा उहांको संवदेनाले भरिएको शैली मलाई मन पर्थ्यो।

मैले एकपटक उहांको ‘एल्बम’को समीक्षा गरेको थिएँ।

मैले भयंकर संगीत जान्ने मान्छे जस्तो गरेर लेखें।

त्यसले सरलाई आघात पु-याएछ।

एक खालको विशेष संगीत ‘मिस्टिक म्युजिक’बारे थाहा छ भनेर उहांले मलाई डाकेरै सोध्नुभयो।

तस्वीर कपीराइट .
Image caption प्रकाश सायमी अम्बर गुरुङलाई नेपाली सांगीतिक अम्बरका उज्जवल ताराका रुपमा चित्रण रुचाउंछन्

अनि पुरा व्याख्या गरिदिनुभयो।

अदभूत क्षमता

अर्को बिर्सनै नसक्ने घटनाबारे म बताउंछु।

नक्सालमा उहांलाई साढेले हानिदिएर ढाड मर्किएको थियो र पछाडि फर्केर पनि हेर्न सक्नुहुन्थेन।

तर त्यसैबेला उहां मुम्बईमा ‘रिकर्डिंग’को लागि जानुभयो।

त्यहां ११ हो कि १३ जना ‘भायोलिनिस्ट’ थिए।

उहांले फर्किएर पनि नहेरीकन तीन नम्बरलाई ‘बाहिर निकाल’ भन्नुभयो।

त्यहां हुलदंगा भयो।

त्यहां उनीहरुको संगठन थियो ।

किन उहांलाई निकाल्नुभएको भनेर त्यहां सोध्दा उहांले ‘ती भायोलिनिस्टले मलाई पत्याएनन्’ भन्नुभयो।

‘रिकर्डिंग’ गरेर बाहिर आएपछि ती ‘भायोलिनिस्ट’ले उहांलाई ढोगे र भने, “तपाईं त यति राम्रो संगीतकार हुनुहुंदो रहेछ। मैले मजाक गरेर बेसुरको बजाएँ”।

मैले जीवनमा देखेको त्यो अद्वितीय घटना थियो।

६ वर्षपछि रविशंकरको ‘कन्सर्ट’ मा मैले तिनै ‘भायोलिनिस्ट’लाई देखे।

उनको नाम सुरेश लालवानी हो।

मैले अम्बर सरलाई लगेर देखाएँ, अनि भने, “हेर्नुस् तपाईंले निकालेको मान्छे त यति राम्रो संगीतकार रहेछन्”।

उहांले जवाफमा भन्नुभयो, “के गर्ने! त्यो बेला उसले अनुशासनमा काम गरेन”।

संगीतको त्यो खालको ज्ञान उहांमा थियो।

विशिष्ट योगदान

उहां हामीबाट बिदा हुनुभएको छ अहिले।

मान्छेले भन्न त यो अपूरणीय क्षति भन्लान् तर उहांका लागि त्यो शब्द काफी हुंदैन।

एसियाको सबैभन्दा राम्रो ‘स्याक्सोफनिस्ट’ मनोहरी सिंहले भन्नुहुन्थ्यो, अम्बर गुरुङ भनेको ‘डाइनेस्टी’ हो।

बेला बेलामा दिव्य खालिंग भन्ने गर्नुहुन्थ्यो, ‘गोपाल योञ्जन राम्रो संगीतकार हो, रन्जीत गजमेर, शरण प्रधान पनि राम्रा होलान्। उनीहरु त यहां काम गर्न आएका हुन्। अम्बर गुरुङ त सन् १९६५ भन्दा अघि राजा महेन्द्रले डाकेर आएका हुन्। उहांमा केही थियो भन्ने त्यति बेलैबाट थाहा भयो’।

शरण प्रधानको निधन हुने बित्तिकै अरुणा लामाका लागि उहाँले संगीत दिनुभयो।

‘सबैले भन्थे लयालु फूल भइ आंखामा फूल..’ भन्ने गीत थियो त्यो।

कुनै पनि पुरुष संगीतकारले महिलाका लागि त्यस्तो संगीत दिने भनेको ठूलो क्षमता हो।

उहां कहिले आमा जस्तो भएर कुरा गर्न सक्ने मानिस हो।

धेरै हदसम्म बौद्धिक व्यक्ति हो।

तर राष्ट्रले उहांको सही प्रयोग गर्न सकेन।

Image caption अम्बर गुरुङ सिकिस्त भएर अस्पतालमा रहंदा उनका शुभेच्छुकहरु हरेक दिनजसो त्यहां पुग्ने गर्थे।

एउटा पुस्ताले सिक्न सक्ने भएर पनि उहांबाट सिकेन।

हिन्दी नाता

उहांका गीत हिन्दी फिल्ममा प्रयोग भएको मलाई सम्झना छ।

‘तिसरी मन्जिल’ चलचित्रको ‘दिवाना मुझ्सा नही इस अम्बरके निचे..’ भन्ने गीतमा ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो..” को धुन लिइएको थियो।

तर बाचुञ्जेल आर.डी. बर्मनले कहिले पनि स्वीकारेनन्।

तर उनको निधनपछि ‘द म्यान एण्ड द म्युजिक’ भन्ने पुस्तक निस्कियो जसमा आएर बल्ल अम्बर गुरुंगको ‘ट्युन’ लिएको भनेर स्वीकारियो।

मैले जिस्काएर उहांलाई ‘तपाईंको धुन त लिए, तर तपाईंको नाम दिएनन्’ भनें।

जवाफमा उहांले ‘त्यो गीतको शब्द सुन त, त्यसमा मेरो नाम पनि छ’ भनेर भनिदिनुभयो।

उहांको मजाक गर्ने क्षमता गजबको थियो।

नेपाली चलचित्र ‘जीवनरेखा’ मा पहिलोपटक ‘म्युजिक डाइरेक्टर’को रुपमा काम पाउनुभयो।

पहिले, पहिले दुई जनाले गर्ने गर्थे तर उहांलाई एक्लै अर्थात ‘सोलो’ गराइएको पहिलोपटक थियो।

निर्देशक प्रकाश थापालाई दुईतीनपटक ‘म्युजिक’ सुन्दा पनि चित्त बुझेन।

उहांले हिन्दी गीतको क्यासेट अम्बर सरलाई दिएर त्यस्तै संगीत नक्कल गर्न भन्नुभयो।

उहांले ‘तिम्रो पैसा पनि लैजाउ, म गर्दिन भन्नुभयो’।

किन नगर्ने भनेर बिना भाउजू (अम्बर गुरुङकी श्रीमती) ले सोध्दा उहांले ‘हिन्दीले मेरो उल्टै चोरिरहेको छ। मलाई झन् हिन्दीबाट चोर भन्ने?’ भनेर आक्रोश पोख्नुभयो।

तर पछि उहांलाई नेपाली फिल्ममा ‘तपाईंको कहिल्यै आगमन हुन सक्दैन’ भनेर त्यो संगीत गर्न वाध्य पारियो।

तर उहांले यस्तो राम्रो गर्नुभयो कि धेरैले त्यसलाई हिन्दी गीतभन्दा राम्रो भने।

‘वहां कौन हैं तेरा मुसाफिर..’ र ‘..आज फिर जिनेकी तमन्ना हैं..’ गीतको धुन नेपालीमा बनाउनुभयो।

ती गीत ‘कहीं आफ्नै भुमरीमा आफै प-यौ कि..’ र ‘हराएझै केही लाग्छ केही पाए जस्तै..’ भन्ने थिए।

बहुआयामिक

‘अम्बर गुरुङले नेपाली लोकसंगीत बनाउन सक्दैन’ भनेर सुरुमा ‘मालती मंगले’ मा काम गर्न नदिन खोजिएको थियो।

तर पहिलोपटक उहांले तनहुंको, गण्डकीको लोकसंगीतको अध्ययन गरेर ‘मालती मंगले’ मा काम गर्नुभयो।

‘शिरको टोपी भुइंमा राखी म गर्छु बिन्ती, ढोका खोल मालती ढोका खोल’ सुनेपछि ‘ए! अम्बरलाई त पूर्वीय लोकगीत पनि आउंदो रहेछ’ भनेर प्राज्ञहरु चुप भए।

तर दुर्घटना के भयो भने त्यो गीति नाटक नहुने भयो।

उहांले १ घण्टा ५५ मिनेटको संगीत गर्नुभयो।

तर राजाले नाटक हेर्ने समय चाहिँ १ घण्टा १५ मिनेट थियो।

राजाको सवारी र फिर्ती सवारीको समय जोडिएको थिएन।

त्यही भएर उहांले १५/१५ मिनेट गरेर ३० मिनेट काट्नुपर्ने थियो।

जीवनमा अम्बर गुरुङले बेस्सरी दु:ख गरेको त्यो क्षण मलाई याद छ।

‘आफूले भरेको संगीत आफैं काट्नुपर्दा हत्याराले गरेको जस्तो काम हुन्छ’ भनेर उहां भन्ने गर्नुहुन्थ्यो।

पछि मालती मंगलेको पुरै संगीत उहांले सवारीको समयलाई ध्यानमा राखेर काट्नुपर्यो।

अपेक्षा

उहांले एकपटक मलाई भन्नुभएको थियो, "मैले नातिकाजीजस्तै संगीत गर्न नसकुँला वा नारायण गोपालले जस्तै गाउन नसकुँला। तर गाउन, संगीत गर्न र लेख्न उनीहरु सक्दैनन् होला, म सक्छु।

तिमीहरुले उठाएको राष्ट्रगायकको जुन कुरा छ, म त्यसका लागि योग्य छु भन्ने लाग्छ। तर म आफैं मागेर चाहिँ केही लिन्न।"

पहिलेपहिले गाउन, रच्न र संगीत दिन सक्नेमात्रै होइन कूटनीतिज्ञ भएर पनि बोल्न सक्ने क्षमता भएकालाई राजगायक भनेर सम्मान दिइन्थ्यो।

त्यसको लागि उहांमात्रै सुयोग्य हुनुहन्थ्यो भन्ने मलाई महसुस हुनुको एउटा कारण छ।

विक्रम सम्वत् २०४५ मा नाकाबन्दी हुंदा देशभरि जनजागरण अभियानमा उहांलेमात्र भारतलाई लक्षित गरेर गीत लेख्नुभयो।

‘..जो रामको भेषमा रावणको कर्तुत गर्दछ हेर, होशियार! होशियार!, यसबखत आफ्नै वरिपरिको साथीलाई चिन..’।

त्यो गीत उहांले हरेक सीमामा गएर गाउनुभयो।

त्यसैले उहां ‘डिप्लोम्याट सिंगर’ पनि हो।

(प्रकाश सायमीसंगको कुराकानीमा आधारित)