‘एरिट्रीयाद्वारा मानवता विरोधी अपराध’

  • 8 जुन 2016
तस्वीर कपीराइट AFP

संयुक्त राष्ट्र संघको प्रतिवेदनका अनुसार मानिसहरुलाई दास बनाउने, थुनामा राख्‍ने, यातना दिने, बलात्कार र हत्या गर्ने जस्ता घटनाहरु एरिट्रीयाको गैरसैनिकहरुमा माझ त्रास फैलाउने अभियानकै रुपमा संचालन भैरहेको छ।

त्यो सन् १९९१ मा सैनिक अधिकारीहरुले देशको बागडोर सम्हालेयता देखि नै जारी रहेको प्रतिवेदनले भनेको छ।

संयुक्त राष्ट्र संघले भनेको छ, मानव अधिकार हननका घटनाहरु नै भूमध्यसागर तरेर युरोप प्रवेश गर्न एरिट्रीयालीहरुलाई वाध्य तुल्याउने मुख्य कारक मध्येमा पर्दछन्।

अफ्रिकाबाट युरोप मानवतस्करी गरेको आरोपमा एकजना एरिट्रीयाली पुरुषलाई इटली सुपर्दगी गरीएको समयमा यो पछिल्लो प्रतिवेदन सार्वजनिक भएको छ।

जिनीभामा रहेकी बीबीसी सम्बाददाता इमोजेन फुक्स भन्छिन्, संयुक्त राष्ट्र संघको सो प्रतिबेदनको व्यहोरा सोझो छ।

आलोचना

एरिट्रीया एउटा सर्वासत्तावादी राज्य भएको र त्यहां दण्डहीनताको अवस्थामा झण्डै एकचौथाई शताब्दीको अवधिसम्म मानवता विरोधी अपराधहरु भैरहेका अनुसन्धानकर्ताहरुले बताएका छन्।

तिनीहरुले विशेषगरी एरिट्रीयाको सैनिक सेवाको आलोचना गरेका छन्।

सैनिक सेवामा जबर्जस्ती र अनिश्चितकालका लागि सामेल हुनु पर्ने अवस्थाका कारण पनि दशौं हजार एरिट्रियालीहरु भागेर भूमध्यसागर पार गरी युरोप प्रवेश गर्ने गरेका राष्ट्र संघले बताएको छ।

उक्त प्रतिवेदनमा सैनिक शिविरहरुमा यातना भोगेका र आफन्तजनलाई बेपत्ता पारिएका मानिसहरुको व्यक्तिगत अनुभव र बयान संलग्न छ।

संयुक्त राष्ट्र संघका अनुसन्धानकर्ताहरुले भनेका छन्, तिनीहरुले मानवता विरोधी अपराधमा संलग्न भएका भन्ने ठानिएका केही एरिट्रीयाली अधिकारीहरुको सम्बन्धमा विभिन्न फाइलहरु तयार पारिएको छ।

ती प्रमाणहरुलाई आवश्यक परेको बेला अदालतका सामु प्रस्तुत गरिनु पर्ने पनि आयोगले अनुरोध गरेको छ।