'संयुक्त अधिराज्यको एकता जोखिममा पर्ने सक्ने'

  • 9 जुन 2016

ब्रिटेनका दुई फरक पार्टीका दुई जना भूतपूर्व प्रधानमन्त्रीहरुले ब्रिटेनले युरोपेली संघको सदस्यता छाड्ने निर्णय गरेमा त्यसबाट देशको एकता नै समस्यामा पर्न सक्छ चेतावनी दिएका छन्।

कन्जरभेटीभ पार्टीका भूतपूर्व प्रधानमन्त्री जन मेजर र भूतपूर्व लेबोर प्रधानमन्त्री टोनी ब्लेयरले उत्तरी आयरल्याण्डमा भाषण गर्दै ब्रिटेनले युरोपेली संघको सदस्यता छाड्नुपर्छ भन्ने पक्षमा भोट दिएमा देशमा अस्थिरता उत्पन्न हुने र स्कटल्याण्ड स्वतन्त्र राष्ट्र बन्ने सम्भावना बढ्ने बताए।   पूर्व प्रधानमन्त्री सर जन मेजरले युरोपेली संघ छाड्ने निर्णय उनकै शब्दमा एक 'ऐतिहासिक भूल' हुने पनि बताए।

जोखिम

बीबीसीका राजनीतिक सम्बाददाता रब वाट्सन भन्छन्, "हालसम्म ब्रिटेन युरोपेली संघको सदस्य बनी रहनु पर्छ भन्ने पक्षमा रहेकाहरुले सदस्यता त्यागे त्यसबाट हुने आर्थिक जोखिमको मात्रै कुरा गरिरहेका थिए।"

अब तिनीहरुले संयुक्त अधिराज्यकै एकतामा संकट पर्ने कुरा गर्न थालेका छन्। पूर्व प्रधानमन्त्री ब्लेयरले मतदाताहरुलाई सम्बोधन गर्दै व्यवहारिक पक्षलाई ध्यान नदिइ खाली सैद्धान्तिक कुरा मात्र गर्नेहरुको तर्कलाई विश्वास नगर्न आह्वान गरे। ब्रिटेनले इयुको सदस्यता परित्याग गर्नु पर्छ भन्ने पक्षमा अभियान चलाइरहेका नेताहरुले ती दुई भूतपूर्व प्रधानमन्त्रीहरुको दावी गैरजीम्मेवार र असत्य भएको बताएका छन्। ब्रिटेन युरोपेली संघको सदस्य बनीरहने हो वा त्यो अब छाड्नु पर्छ भन्ने विषयमा हुन लागेको जनमत संग्रहका लागि अब दुई हप्ता बांकी रहेको छ।

एकता विगतमा एक अर्काका राजनीतिक प्रतिद्वन्द्वी रहेका जन मेजर र टोनी ब्लेयरले संयुक्त रुपमा एउटै मञ्चमा उपस्थित भएर जुन २३ तारिखमा हुने जनमत संग्रहमा उनीहरुकै शब्दमा ब्रिटेनकै एकताको प्रश्नमाथि मतदान भैरहेको बताएका थिए। ती दुबै नेताहरुले उत्तरी आयरल्याण्डको शान्ति प्रकृयामा उल्लेखनीय भूमिका खेलेका थिए। तर ब्रिटेनले युरोपेली संघको सदस्यता त्याग्नु पर्छ भन्ने पक्षकी एकजना अग्रणी अभियानकर्ता तथा उत्तरी आयरल्याण्ड मामिला हेर्ने मन्त्री टरिजा भिल्लीएर्सले भनिन्, उत्तरी आयरल्याण्डमा शान्ति प्रकृयाप्रतिको समर्थन बलियो रहेको छ र कसैले त्यस्तो होइन भन्छ भने त्यो एकदमै गैरजिम्मेवार टिप्पणी हो।