आतंकवादको छायाँमा युरो

  • 10 जुन 2016

ड्यान रोओन

बीबीसी खेल सम्पादक

तस्वीर कपीराइट AFP

हालैका महिनामा आतंकवादी हमलाको निशानामा परेको फ्रान्सले शुक्रबार शुरु हुने युरो २०१६ को सफल आयोजना गरेर त्रासदीपूर्ण विगतलाई बिर्सन खोजिरहेको छ।

प्यारिसको स्टाड ड फ्रान्स रंगशालामा १३० जनाको ज्यान लिने गरी आत्मघाती हमला भएको लगभग २१० दिनपछि शुक्रबार उक्त मैदानमा युरोपियन च्याम्पेनसिपको उद्घाटन खेलमा आयोजक फ्रान्स र रुमेनिया भिड्दैछन्।

उक्त समारोह उत्सव, एकता, अवज्ञा र सम्झनाको मिश्रण भएको एउटा भावपूर्ण अवसर हुने पक्का छ। तर त्यससँगै त्यहाँ केही हुनसक्ने त्रास पनि कायम रहनेछ।

यो प्रतियोगिताबाट फ्रान्सले नोभेम्बरमा भएको प्यारिस हमला र त्यसअघि गएको जनवरीमा भएको सार्ली एब्दो हत्याकाण्डको पीडाबाट आफ्नो आम जनजीवन सम्हालिंदै गएको सन्देश दिने अपेक्षा गरिएको छ।

अर्को अपेक्षा आयोजक राष्ट्रले सन् १९९८ को बहुजातीय टोलीले विश्वकपमा हात पारेको सफलता दोहर्याएर देशलाई एकताबद्ध बनाउला भन्ने छ।

एक वर्ष भन्दा अघि फुटबलको सर्वोच्च संस्था फिफामा शुरु भएको अहिलेसम्मकै ठूलो भ्रष्टाचार विवादयता हुन लागेको प्रतियोगिताले फुटबललाई पुन: केन्द्रमा ल्याउने र झण्डै १२ महिनायताको लाजमर्दो अवस्थाबाट माथि उठ्ने मौका दिनेछ।

तर यसअघि विरलै यति बढी सुरक्षा चिन्ताहरुका बीच अहिलेसम्म प्रमुख अन्तर्राष्ट्रिय खेल प्रतियोगिता भएका थिए।

डर, आस्था र फुटबल

तस्वीर कपीराइट SBU Press Service photo via AP

नोभेम्बरमा प्यारिसमा भएको हमला र त्यसपछि मार्चमा ब्रसल्समा भएको आक्रमणले स्पष्ट रुपमा जिहादीहरुले युरो २०१६ लाई लक्षित गरी योजनाहरु बनाइराखेको भन्ने अर्थ दिन्छ।

इस्लामिक स्टेट विद्रोहीहरुको एउटा दस्ताले प्रतियोगिताको समयमा अर्को आक्रमण गर्ने तयारी गरिरहेको खबरहरु पनि आएका थिए।

अघिल्लो महिना, प्यारिस हमलामा संल्गन सालेह अब्दुलेसलामबाट बरामद गरिएको एउटा ल्यापटपमा फेला परेका विवरणहरुले जिहादीहरुले आत्मघाती बम, ठूला बन्दुकहरु र जैविक हतियारसहितका ड्रोन प्रयोग गरी इंग्ल्याण्ड र रुसका समर्थकहरुलाई यो सप्ताहान्त मर्सेइमा आक्रमण गर्ने योजना बनाएको संकेत गरेको थियो।

यो हप्ता त्यस्ता चिन्ताहरु थप बढेका छन्।

अमेरिका र ब्रिटेनका सरकारहरुले फुटबल समर्थकहरुलाई उनीहरुलाई सुरक्षा खतरा हुनसक्ने चेतावनी दिएको थियो।

र युक्रेनको सुरक्षा निकायका अनुसार भारी हतियारसहित गिरफ्तार एक फ्रान्सेली नागरिकले प्रतियोगितासँग जुध्ने गरी आक्रमण गर्ने योजना गरिरहेको थियो।

अघिल्लो महिना स्टाड ड फ्रान्समा भएको फ्रेन्च कपको फाइनलमा भीडले निम्त्याएको समस्या, आइफेल टावर नजिकै रहेको विशाल ‘फ्यान जोन’ को सुरक्षा चिन्ता र हालकै यातायत हडतालका कारण पनि आयोजकको मनोबल वृद्धि हुन सकिरहेको छैन।

गएको नोभेम्बरमा फ्रान्सविरुद्धको मैत्रिपूर्ण खेलमा सहभागी जर्मनीका रक्षापङ्तिका खेलाडी सेरोम बोटेङले विगतको जस्तो हमला हुनसक्ने भन्दै आफ्नो परिवारलाई प्रतियोगिताबाट टाढै बस्न भनेका छन्।

न्यु स्कटलण्ड यार्डका पूर्व प्रतिआतंकवाद प्रमुख रिचर्ड वाल्टनका अनुसार इतिहासमा हालसम्म भएका अन्य अन्तर्राष्ट्रिय खेल प्रतियोगिताभन्दा युरो २०१६ मा बढी खतरा महसुस गरिएको छ।

आयोजक युइएफए र फ्रान्सेली अधिकारीहरुले उनीहरुले ५१ वटा खेल हेर्न आउने झण्डै २५ लाख मानिसको सुरक्षाका लागि कुनै कसर बाँकी नराखेको बताएका छन्।

सुरक्षाका लागि झण्डै ९० हजार प्रहरी र सेना खटाइएको छ र १० वटा रंगशाला, समर्थकहरुको भीड जम्मा हुने शहरका पार्कहरु र यातायत केन्द्रहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

तस्वीर कपीराइट Reuters

राष्ट्रिय संकटकालको समयावधि पनि लम्बाएर प्रतियोगिताभर पुर्याइएको छ।

शान्त रहेको सान्टिली जहाँ इंग्ल्याण्डको टोली बसिरहेको छ त्यहाँ पनि अभुतपूर्व सुरक्षा व्यवस्था देखिन्छ।

टोली बस्ने होटल बाहिर हतियार सहितका फौजले निरन्तर गस्ति गरिरहेका छन्।

र फ्रान्सका टेलिभिजनका समाचारहरुमा नाटकीय रुपमा सुरक्षा निकायहरुले विभिन्न शहरहरुमा गरिरहेका वास्तविक प्रतिआतंकवाद कारवाहीको अभ्यास निरन्तर प्रसारण भइरहेका छन्।

इंग्ल्याण्डका रक्षापङ्तिका खेलाडी क्रिश मलिङले यसै हप्ता धेरै खेलाडीको भावना बोल्ने क्रममा भने उनको टोलीले आतंकवादी हमलाको जोखिमबारे छलफल समेत गरेको छैन्।

यसैबीच युरोपोलका प्रमुखले आक्रमणको सम्भावनाबारे चासो प्रकट गर्दै फ्रान्सको सुरक्षा प्रयासको प्रशंसा गरेका छन्।

आतंकवाद

तस्वीर कपीराइट EPA

खेलकुद आतंकवादको जोखिमबाट विगतमा पनि अलग नभएका दृष्टान्त छन्।

सन् १९७२ को म्युनिख खेलका क्रममा प्यालेस्टिनी लडाकूहरुले इजरेलको राष्ट्रिय टोलीलाई बन्धक बनाएका थिए।

श्रीलंकाको टोलीमाथि लहोरमा आक्रमण भएपछि सन् २०११ को क्रिकेट विश्वकपको सहआयोजकबाट पाकिस्तानलाई हटाइएको थियो।

तर खेल जगतसँग पनि त्यस्ता त्रासदीको सामना गर्ने क्षमता रहेको छ।

सन् २०१२ को लण्डन ओलम्पिकअघि पनि आतंकवादी हमलाको चेतावनी जारी गरिएको थियो तर उक्त प्रतियोगिता शान्तिपूर्ण रुपमा सम्पन्न भयो।

सन् २०१४ को गृष्मकालीन खेलकुदअघि रुसको भोल्भोगार्दमा बम हमला भएपछि सुरक्षा चिन्ता प्रकट भएका थिए।

तर सोचीमा भएको प्रतियोगिता सफल भयो।

प्यारिसले हालै फ्रेन्च ओपन टेनिश प्रतियोगिता आयोजना गरेको छ।

यो बाहेक ६ देश सहभागी रग्बी प्रतियोगिता र च्याम्पियन्स लिग फुटबालका प्रतिस्पर्धाहरु कुनै त्यस्ता घटना बिना हालै राजधानी प्यारिसमा भएका छन्।

सन् २०२४ को ओलम्पिक र प्याराओलम्पिक प्रतियोगिता आयोजना गर्ने दावी प्रस्तुत गरिरहेको फ्रान्सलाई एउटा उत्कृष्ट दाबेदारका रुपमा समेत हेरिएको छ।

आत्मविश्वास

तस्वीर कपीराइट Reuters

सेन नदीको किनारमा रहेको सिटी हल स्थित कार्यलयमा कुरा गर्दै प्यारिसकी मेयर एन इडाल्गोले भनिन्, “हामी युरो एउटा उत्सव होस् भन्ने चाहान्छौँ।”

उनले थपिन्, “विगतमा भएका हमलाहरुपछि फ्रान्सको पुरै जनसंख्यालाई एउटा सकारात्मक मनस्थितितर्फ परिचालन गर्न यस्तो कार्यक्रमको ठूलो महत्व हुन्छ, विश्वलाई हामी यही छौँ र हामी तपाईंहरुलाई प्यारिसमा स्वागत गर्छौँ भन्ने सन्देश दिन चाहन्छौँ, हामी हाम्रो जीवनशैली बदलिने छैनौँ र त्यो नै आतंकवादीहरुलाई दिने जवाफ हुनेछ, खेलले सबैलाई एकतामा बाँधेको छ।”

इडाल्गोले नोभेम्बरको मानसिक पीडाबाट प्यारिसलाई मुक्त गर्न महत्वपूर्ण भूमिका खेलेकी थिइन र उनी अधिकारीहरुले सफल र सुरक्षित रुपमा प्रतियोगिता सम्पन्न गर्नेमा ढुक्क छिन्।

ऐतिहसिक रुपमा नै, अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका आयोजकहरुलाई आतंकवाद भन्दा पनि हुल्याहाहरुको उपद्रो चिन्ताको विषय हुने गरेको थियो।

तर विश्वमा परिवर्तन आएको छ र त्योसँगै खेलकुद पनि बदलिंदैछ।

अहिले पनि प्यारिसका बाटाहरुमा हतियारसहितका सैनिकहरुको तैनाथी, समर्थकहरु जम्मा हुने पार्कमा झोलाको थप खान तलासी र रंगशालामा दुई तहको सुरक्षा जाँच भइरहेका छन्।

तर यसलाई समयको मागका रुपमा हेरिएको छ।

खेलको सन्दर्भमा कुनै बेला यस्तो सुरक्षा व्यवस्थालाई ‘अति’ र ‘अनावश्यक’ ठानिन्थ्यो तर अहिले त्यो आश्वस्त पार्ने एउटा महत्वपुर्ण कडी भएको छ।

आफूले मोलिरहेको जोखिमलाई लिएर यहाँ पुगेका धेरैले स्वाभाविक रुप असहज महसुस गर्नेछन्।

तर उनीहरुले प्रतिकुलताकाबीच पनि जीवन चलिरहन्छ भन्ने देख्नेछन् र यो प्रतियोगिता हेर्न आएकोमा गर्व महसुस गर्नेछन्।

युरो २०१६ युद्धमा रहेको एउटा देशमा आयोजना भइरहेको छ।

कतिपयले प्रतियोगिताको स्थान र समय गलत भएको टिप्पणी गरेका छन्।

तर कैयौँ अरुले फ्रान्सले भोगीरहेको खतराकै कारण युरो २०१६ त्यहाँ नै र अहिले नै आयोजना गर्नुपरिरहेको धारणा राखिरहेका छन्।