परराष्ट्रमन्त्री थापा दिल्लीमा

  • 10 जुन 2016
तस्वीर कपीराइट .

शुक्रबारदेखि तीन दिने भारत भ्रमणकोलागि दिल्ली पुगेका उपप्रधान मन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले भारतीय समकक्षी सुष्मा स्वराजसंगको भेट निकै उपयोगी र रचनात्मक भएको जानकारी दिएका छन्।

त्यसअघि उनले भारतीय पत्रकारहरुलाई नेपाल र भारतबीचका सबै असमझदारीहरु हटेको बताएका थिए।

भारतीय समकक्षी सुष्मा स्वराजसंगको भेटपछि थापाले उनीसँगको भेट निकै “उपयोगी र रचनात्मक” भएको जानकारी आफ्नो ट्वीटरमार्फत दिएका थिए।

तर दिल्लीस्थित नेपाल मामिलाका एक विज्ञले दुबै देशबीचको अविश्वास अझै हटिनसकेको टिप्पणी गरेका छन्।

विगत आठ महिनामा मन्त्री थापाबाट भएको यो पाँचौ भारत भ्रमण हो।

निरन्तर

भारतीय विदेश मन्त्रायलका प्रवक्ता विकास स्वरुपले दुई विदेशमन्त्रीबीचको भेटको फोटो सार्वजनिक गर्दै नेपालसँगको सहकार्य निरन्तर भइरहेको बताए।

नेपाली दूतावासले जारी गरेको विज्ञप्तीमा जनाइएअनुसार भेटमा दुई विदेश मन्त्रीहरुले नेपाल र भारतबीच विभिन्न तहमा हुने आदानप्रदानको महत्वमा जोड दिंदै दुई पक्षीय सम्वन्धको समीक्षा गरेका थिए।

त्यसअघि उनले दिल्लीस्थित नीति अनुसन्धान संस्था अब्जर्भर रिसर्च फाउन्डेसनमा आयोजित एक भेलालाई सम्वोधन गरेका थिए।

सो भेलामा सहभागी नेपाल मामिलाका एक जानकार जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यपक एसडी मुनीले थापाले नेपालको नयाँ संविधान बनेपछि खासगरी तराई क्षेत्रमा देखिएको तनावलाई सम्वोधन गर्न विभिन्न कामहरु भइरहेको जानकारी गराएका थिए।

तर नेपाल-भारत सम्वन्धमा थापाले भनेजस्तो सुधार नआइसकेको मुनीले बीबीसीलाई बताए।

उनले भने, “नेपालले सबभन्दा पहिला संविधानका विवाद हल गर्नु पर्छ। त्यसपछि प्रधानमन्त्री ओली र प्रचण्डले जस्तो ‘हाम्रो सरकारलाई भारतले ढाल्न खोज्यो’ जस्ता अभिव्यक्ति दिनुले विश्वासको संकट कायमै रहेको देखाउँछ। त्यस्तो हुनु हुँदैन।”

कार्यक्रम

दिल्ली पुगे लगत्तैको पहिलो कार्यक्रममा मन्त्री थापाले दिल्लीस्थित प्रेस क्लब अफ इण्डियामा भारतीय पत्रकारहरुको जिज्ञासा शान्त गर्ने प्रयास गरेका थिए।

शनिबार उनले दिल्लीमा साउथ एसियन युनिभर्सिटीको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ।

आइतबार नेपाल फर्किनु अघि मन्त्री थापाले भारतका विभिन्न नेताहरुलाई भेट्ने कार्यक्रम छ।

तर को, को सँग भेट हुने हो त्यसको टुंगो लागि नसकेको दिल्लीस्थित एक अधिकारीले बताए।