बक्सर अलीको स्मृतिसभा सम्पन्न

  • 11 जुन 2016
तस्वीर कपीराइट AP
Image caption स्मृतिसभामा अलिको जीवनको विभिन्न पाटाहरु समेटिएको गाथा सुन्न १४ हजार मानिसहरु भेला भएका थिए

दिवंगत विश्वप्रसिद्ध बक्सिङ खेलाडी मुहामद अलीको भावपूर्ण स्मृतिसभा उनको गृहनगर लुइभिल केनटकिमा सम्पन्न भएको छ।

मुसलमान इसाई, यहुदी र अन्य धर्मका वक्ताहरुले अलीले नागरिक अधिकारको पक्षमा गरेको लडाँइको सम्झना गरेका थिए भने राष्ट्रपति ओबामाले उनको मौलिकताको प्रंशसा गरेका थिए।

उक्त अन्तरधार्मिक समारोह अलीको शव राखिएको बाकसले नगर परिक्रमा गर्दा हजारौँले उनको अन्तिम विदाइ गरेपछि आयोजना गरिएको थियो।

परिवारका सदस्य एवं उनका साथीभाई सम्मिलित एउटा निजी समारोहमा अलीको अन्त्येष्टि गरिएको थियो।

सहभागी

उनको सम्झनामा के एफ सि यम सेन्टरमा आयोजित श्रद्धाञ्जली सभामा विशिष्ठ व्यक्तिहरु सहित हजारौँ सहभागी भएका थिए।

समारोहको सुरुमा अरबी भाषामा कुरान बाचन गरिएको थियो।

उक्त समारोहमा बोल्दै अलीकी पत्नी लनीले भनिन्, “ मुहामदलाई कुनै नियम मनपरेन भने उनी आफ्ना लागि आफैँ नियम बनाउथेँ जस्तोसुकै मुल्य चुकाउनु परे पनि उनी आफ्नो धर्म, आस्था र नामसँग सम्झौता गर्दैनथिए।"

स्मृति सभाका एकजना प्रमुख वक्ता पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले अलीलाई आफ्नो आस्था प्रति दृढ एकजना स्वतन्त्र व्यक्तिको रुपमा चित्रण गरेका थिए।

उनले कलिलो उमेरमा नै आफ्नो इतिहास आफैँ लेख्ने निर्णय गरेको उल्लेख गर्दै क्लिन्टनले भने अलीले कहिल्यै आफूलाई कमजोर बन्न दिएनन्।

आफ्नी छोरी मालियाको दिक्षान्त समारोहका कारण स्मृतिसभामा अनुपस्थित राष्ट्रपति बराक ओबामाले आफ्ना एक सहयोगीलाई श्रद्धाञ्जली सन्देश सहित उक्त सभामा पठाएका थिए।

सन्देश

ओबामाले अलीलाई यो युगकै सबैभन्दा महान्, चम्किलो र शक्तिशाली व्यक्तिका रुपमा चित्रण गर्दै मुहामद अली सधैँ अमेरिकाको गौरब भइरहने उल्लेख गरेका थिए।

कलाकार बील्ली क्रिस्टलले बक्सिङ छोडेको ३५ वर्षपछि पनि मुहामद अली विश्व विजेता रहिरहेको बताएका थिए।

जोर्डनका राजा अब्दुल्लाह पनि सभामा सहभागी थिए।

टर्कीका राष्ट्रपति बिहीबारको प्रार्थना सभामा सहभागी थिए तर उनी भ्रमण छोट्याएर फर्किएका थिए।

अलिको सम्झना समारोहमा हलिवुड अभिनेता विल स्मिथ, आर्नल्ड स्वाजनेगर र पूर्व बक्सिङ खेलाडी माइक टाइसनलगायत चर्चित हस्तीहरु पनि उपस्थित थिए।