ब्रिटेनकी महारानीको ९०औं जन्मदिन

  • 11 जुन 2016
तस्वीर कपीराइट .

ब्रिटेनकी महारानीको एलिजाबेथको ९०औं जन्मदिन मनाउने कार्यक्रम अन्तर्गत महारानी र उनका परिवारले उनको निवास बकिङ्गम दरबार माथिबाट उडेका परम्परागत रंगीचंगी विमानको अवलोकन गरेका छन्।

त्यसअघि उनले मध्य लंडनमा ट्रुपिङ द कलर्स नामक परेडको अवलोकन गरेकी थिईन्। १६०० भन्दा बढी सैनिक र ३०० घोडाले उक्त परेडमा भाग लिएका थिए।

थेम्स नदीमा ऐतिहासिक डुंगाहरुको प्रदर्शनी हुनेछ र ब्रिटेनका थुप्रै शहरमा शाही तोपको सलामी दिईनेछ।

उज्यालो हरियो रंगको कोट र उस्तै रंगको टोपी लगाएकी महारानीले घोडाबग्गीमा चढेर उनका श्रीमान ड्युक अफ एडिनबरा संग बकिङ्गम दरबारबाट निस्किंदा भीडलाई हात हल्लाएर अभिवादन गरेकि थिईन्।

रंगीचंगी उत्सव

‘महारानीको जन्मदिनको परेड’का नामले चिनिएको उक्त वार्षिक उत्सवमा महारानी सन् १९५५ मा बाहेक हरेक वर्ष उपस्थित भएकी छिन्।

सन् १९५५ मा राष्ट्रव्यापी रेल हड्तालका कारण उक्त कार्यक्रम रद्द गरिएको थियो।

राजकुमार ह्यारी का साथ डचेस अफ कर्नवाल कमिला र डचेस अफ क्याम्ब्रिज केट अर्को बग्गीमा चढेका थिए भने ड्युक अफ योर्क एन्ड्रिउ र उनका छोरीहरु राजकुमारी बीट्रिस र युजेनी त्यसपछिको बग्गीमा चढेका थिए।

राजपरिवारका अरु थुप्रै सदस्य घोडामा चढेका थिए।

घोडामा चढेका सैनिक ब्यांड र परम्परागत भालुको छालाको टोपी लगाएका सैनिक संलग्न हुने उक्त रंगीचंगी उत्सव हेर्न हजारौं मानिसहरु सडकमा उत्रेका थिए।

शाही वायुसेनाको विमान प्रदर्शनी हेर्न राजपरिवार बकिङ्गम दरबारको बार्दलीमा पुगेको थियो।

दुईवटा विमान माथिबाट उड्दा पहिलोपटक उक्त बार्दलीमा देखिएको राजकुमारी श्यार्लटले कान थुनेकी थिईन्।

उत्सव सकिने बेलामा दरबारको अगाडि जम्मा भएको भीडले उल्लासपुर्ण रुपमा हर्ष प्रकट गरेका थिए।

यो सप्ताहान्तभरी महारानीको औपचारिक जन्मदिन मनाउन ब्रिटेनभरी विभिन्न ठाउँमा सडक उत्सवहरु हुनेछन्।

वर्षमा दुईवटा जन्मदिन

उनले वर्षमा दुईपटक जन्मदिन मनाउने गरेकी छिन्।

उनको खास जन्मदिन अप्रिल महिनाको २१ तारिखमा हो भने औपचारिक रुपमा उनको जन्मदिन जुन महिनाको कुनै एक शनिबार मनाईन्छ।

२५० वर्षदेखि ब्रिटेनको राजा वा रानीको जन्मदिनमा राम्रो मौसम सुनिश्चित गर्नका लागि त्यसो गर्ने गरिएको छ।

महारानीको देशप्रतिको निष्ठालाई सम्मान गर्दै शुक्रबार सेन्ट पल्स क्थाथिड्रलमा राष्ट्रिय समारोह आयोजना गरिएको थियो।

ट्रुपिङ द कलर्स नामक सैनिक समारोह १८औं शताब्दीमा शुरु भएको हो।

महारानी एलिजाबेथले पहिलोपटक त्यो उत्सव ८ वर्षको उमेरमा बार्दलीबाट हेरेकी थिईन्।

त्यतिबेला उनका हजुरबुवा जर्ज पाचौं ब्रिटेनका राजा थिए।

सन् १९८० को दशकसम्म उनी घोडामा चढेर उक्त उत्सवमा जाने गर्थिन्।

आज यो एउटा प्रतीकात्मक समारोह भएको छ तर टाढाबाट देखिने ती झण्डाहरु शताब्दियौं अगाडि युद्धमा प्रयोग हुन्थे।