‘ब्रिटेनले छाडे इयु विघटनतर्फ’

  • 11 जुन 2016
तस्वीर कपीराइट AP

ब्रिटेनले यूरोपेली संघ इयु छाड्ने पक्षमा निर्णय लिए त्यसले सो संघ विघटनको बाटोमा जाने स्विडेनकी विदेशमन्त्रीले जनाएकी छन्।

दश वर्षसम्म इयुकी आयुक्त समेत रहेकी मार्गट भाल्स्ट्रोमले ब्रिटेनले इयु त्यागे अन्य देशहरुमा पनि त्यस्तै प्रकारका जनमत संग्रह हुन सक्ने बताइन्।

खराब परिणाम

बीबीसीसंगको अन्तर्वार्तामा स्वीडेनकी विदेश मन्त्री भाल्स्ट्रोमले ब्रिटेन इयुमा रहने कि नरहने भनी हुन लागेको जनमतसंग्रहको जुनसुकै नतीजा आएपनि त्यसको खराब परिणाम देखिने बताइन्।

ब्रिटेन इयुमै रहने पक्षमा नतीजा आएपनि त्यसपछि अन्य यूरोपेली देशहरुले संघसंगको तिनका सदस्यताका शर्तहरु पुनर्लेखनका लागि माग गर्न सक्ने उनले जनाएकी छन्।

उनका अनुसार सो जनमत संग्रहको प्रभाव गहिरोसंग पर्नेछ।

तापनि ब्रिटेन इयु मै रहिरहोस् भनी आफुले चाहेको उनले बताइन्। स्वीडेनका लागि ब्रिटेन महत्वपूर्ण व्यापारिक साझेदार रहेको अनि ब्रिटेनमा ९० हजार स्वीडिश नागरिक रहेको उनले उल्लेख गरिन्।

बहस

इयुको भविष्य तथा उसका संस्थाहरुबारे उनको जस्तै चिन्ता कैयौं यूरोपेली राजधानीहरुमा देखिन थालेका छन्।

ब्रिटेनमा इयुबारे मतदान हुन दुई साताभन्दा कम समय बाँकी रहँदा सर्वेक्षणहरुले दुवै पक्ष बराबर जस्तो रहेको देखाएका छन्।

इन्डेपेन्डेन्ट अखबारका निम्ति गरिएको शुक्रबार साँझ प्रकाशित एक सर्वेक्षणले छाड्ने पक्षधरसंग १० अंकको अग्रता रहेको देखाएको थियो।

जुन २३ मा हुने जनमत संग्रहका निम्ति ब्रिटेनको इयुसंगका व्यापार, छाडेमा वा रहेमा त्यसले ब्रिटेनको अर्थतन्त्रमा पर्ने असरजस्ता मुद्दाबारे बहस भइरहेका छन्।

छाड्ने पक्षधरहरुले ब्रिटेनले इयु छाडे ब्रिटिश कम्पनीहरुमा लागेका यूरोपेली नियमका बन्धन तोडिने बताउने गरेका छन्।

त्यस्तै ब्रिटेनले अन्य देशसंग आफ्नै प्रकारले व्यापारीक सम्झौता गर्न सक्ने उनीहरुको जिकिर छ।

तर ब्रिटेन इयुमा रहिरहनुपर्ने पक्षधरहरुले चाहीं इयु छाडे ब्रिटेनले आर्थिक धक्का बेहोर्नुपर्ने र वृद्धि कमजोर हुने बताउने गरेका छन्।

उनीहरुका अनुसार यूरोपेली एकल बजारमा पहुँच बनाइराख्न पनि ब्रिटेनले इयुका नियमा मानिराख्नुको विकल्प छैन।

अहिलेको अवस्थामा ब्रिटेनको अन्तर्राष्ट्रिय व्यापारको आधा हिस्सा इयुसंग जोडिएको छ। इयुको एकल बजारले वस्तु, सेवा, पुँजी तथा मजदूरको स्वतन्त्र आवतजावत निश्चित गरेको छ।