युरोकपः रुस र इंग्ल्याण्डका समर्थकबीच झडप

  • 12 जुन 2016
तस्वीर कपीराइट AP

फ्रान्सको मार्से शहरमा भइरहेको युरो फुटबलमा आफ्नो मुलुकको टोलीले पहिलो खेल खेलेकै दिन इंग्ल्याण्डका समर्थकहरुले प्रहरी र प्रतिद्वन्द्वी समर्थकहरुसँग झडप गरेका छन्।

फ्रान्सको बन्दगाह शहरमा दुई रातदेखिको तनावमाझ थप झडपका घटना भएका हुन्।

स्थिति नियन्त्रणमा लिन फ्रान्सेली प्रहरीले तेस्रो दिन अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेका थिए।

झडपका क्रममा एकजना ब्रिटिश नागरिक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

भागदौड

एक-एक गोलको बराबरीमा खेल सकिएपछि रंगशालामा पनि झडप भएको थियो।

खेलपछि रुसी समर्थकहरुले आक्रमण गर्न खोजेपछि थप झडप भएको थियो।

प्रत्यक्षदर्शीहरुका अनुसार प्रतिद्वन्द्वी समर्थकहरुलाई अलग राख्न तयार पारिएका छेकबारमाथि केही रुसी समर्थकहरु चढेका थिए।

बीबीसीका खेल सम्पादक ड्यान रोओनका अनुसार त्यसपछि अत्तालिएर इंग्ल्याण्डका समर्थकहरु वरिपरिका बारहरु नाघ्दै भाग्न शुरु गरेका थिए।

हिंसात्मक

तस्वीर कपीराइट AP

उनी भन्छन्, “युरोपेली फुटबलको प्रशासकीय निकाय युइएफएका लागि यहाँ ठूलो प्रश्न के छ भने विष्फोटपछि भागदौड शुरु भएको थियो, आगजनी गराउन सक्ने त्यस्तो साधन भित्र कसरी पुग्यो र छेकबार कहाँ थियो?”

प्रहरीका एकजना प्रवक्ताले खेलअघिको झडपका क्रममा घाइते भएका ब्रिटिश समर्थकलाई अधिकारीहरुले जोगाएको बताएपनि थप विवरण दिएनन्।

विदेश मन्त्रालयकी एकजना प्रवक्ताले भनिन्, “मार्सेमा एकजना ब्रिटिश नागरिक घाइते भएको घटनाबारे बुझ्न हामी फ्रान्सेली अधिकारीहरुसँग सम्पर्कमा छौँ र थप सहयोगका निम्ति तयारी अवस्थामा छौँ।”

युइएफएले भनेको छ, मार्सेमा भएको घटनाको हामी सशक्तरुपमा निन्दा गर्छौँ, यस्ता हिंसात्मक गतिविधिमा संलग्न हुने मानिसहरुका लागि फुटबलमा कुनै स्थान हुँदैन।