गोलीकाण्डः 'आतंकवादी र घृणित कार्य'

  • 13 जुन 2016
तस्वीर कपीराइट EPA

अमेरिकी राष्ट्रपति बराक ओबामाले फ्लोरिडा राज्यको ओर्लाण्डो शहरस्थित एउटा समलिङ्गी रात्रीक्लबमा आइतबार बिहान गराइएको गोलीकाण्ड ‘आतंकवादी र घृणित कार्य’ भएको बताएका छन्।

उनले अमेरिकीहरु दुःख र आक्रोशको घडीमा एकतावद्ध हुने र आफ्ना मान्छेको रक्षा गर्ने वाचा गर्ने गरेको बताए।

२९ वर्षीय ओमार मातीनले समलिङ्गी रात्रीक्लबमा आक्रमण गर्दा ५० जनाले ज्यान गुमाएका छन् भने ५३ जना घाइते भएका छन्।

पछि प्रहरीले गोली चलाउँदा उनी मारिएका थिए।

संलग्नता

तथाकथित इस्लामिक स्टेट समूहले आक्रमण पछाडि आफ्नो हात रहेको बताएको छ तर घटनामा कुन हदसम्म उसको संलग्नता छ त्यो स्पष्ट भइसकेको छैन।

उक्त समूहसँग सम्बद्ध अमाक समाचार संस्थामा राखिएको एउटा वक्तव्यमा आइएस ‘योद्धा’ आक्रमणमा संलग्न रहेको उल्लेख छ।

एनबीसी न्यूजका अनुसार रात्रीक्लबमा आक्रमण गर्नुअघि मातीनले आपतकालीन सेवामा फोन गरेका थिए र आफू इस्लामिक स्टेट समूहसँग आवद्ध रहेको बताएका थिए।

रात्रीक्लबमा मानिसहरुलाई बन्धक बनाएपछि ११ जना प्रहरीसँग गोली हानाहान हुँदा उनी मारिएका थिए।

अमेरिकी इतिहासमा पछिल्लो समय सामूहिक गोलीकाण्ड गराइएकोमध्ये यो सबैभन्दा विध्वंसात्मक घटना भएको बताइएको छ।

स्मरण

तस्वीर कपीराइट CBS

अधिकारीहरुका अनुसार पीडितमध्ये हालसम्म सात जनाको मात्र नाम खुल्न सकेको छ।

स्थानीय समय अनुसार आइतबार साँझ ६ बजे पीडितहरुको सम्झनामा मौनधारण गरिएको थियो।

राष्ट्रपति ओबामाले दर्जनौं मानिसहरुको क्रुर हत्याले अमेरिकीहरुले कति सजिलै हतियार बोक्न सक्छन् भन्ने कुराको स्मरण गराएको बताएका छन्।

उनले भने, “आक्रमणकारीसँग हाते बन्दुक र शक्तिशाली राइफल थियो त्यसकारण यो आमनरसंहारले थप स्मरण गराएको छ कि कति सहज तरिकाले कसैले हतियार बोक्न सक्छ अनि विद्यालय, प्रार्थनाघर, सिनेमाघर वा रात्रीक्लबमा मान्छे मार्न सक्छ।”

बन्दुक राख्न पाउनेबारे कडा कानुनको पक्षमा वकालत गर्दै आएका ओबामाले भने, “हामीले कस्तो मुलुक बनाउन चाहेका छौँ भन्नेबारे निर्णय गर्नुपर्छ र सक्रिय रुपमा केही गर्नु पनि एउटा निर्णय हो।”

सन् २०१३ मै मातीनले आफ्ना सहकर्मीहरुबारे उत्तेजक टिप्पणी गरेको र आतंकवादीहरुसँग सम्बन्ध रहेको दाबी गरेकोबारे आफूहरु अवगत रहेको केन्द्रीय जाँच निकाय एफबीआइले जनाएको छ।

आलोचना

तस्वीर कपीराइट AP

एफबीआइका एकजना अधिकारीले मातीनसँग तीनपटक सोधपूछ गर्नुका साथै उनीबारे पूर्णरुपमा अनुसन्धान गरिएको बताए।

सिरिया पुगेका अमेरिकी आत्मघाती बम हमलाकारी मोनिर अबु साल्हानसँग मातीनको सम्बन्ध भएपनि खासै महत्वपूर्ण नदेखिएकोले त्यतिबेला उनीविरुद्धको मुद्दा फिर्ता लिइएको थियो।

मातीनका बाबुले धार्मिक भावनाबाट नभइ समलिङ्गी सम्बन्धविरोधी धारणाका कारण उनले गोलीकाण्ड गराएको बताएका छन्।

रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका आकांक्षी डोनल्ड ट्रम्पले एकजना अतिवादी इस्लामिक आतंकवादीले अमेरिकामाथि आक्रमण गरेको भन्दै त्यही पदावली राष्ट्रपति ओबामा र डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी आकांक्षी हिलरी क्लिन्टनले प्रयोग नगरेकोमा आलोचना गरेका छन्।

हिलरी क्लिन्टनले पीडित परिवारप्रति समवेदना व्यक्त गरेपनि बन्दुकधारीको उद्देश्यबारे केही उल्लेख गरिनन्।

‍पोप फ्रान्सिसले उक्त डरलाग्दो घटनाप्रति दु:ख प्रकट गर्दै आक्रमणको निन्दा गरेको भेटिकनले जनाएको छ।