ओर्लान्डो हमलाकारी 'शान्त'

  • 13 जुन 2016
तस्वीर कपीराइट Getty Images

संयुक्त राज्य अमेरिकाका प्रहरीले फ्लोरिडा राज्यस्थित एउटा समलिंगी नाइटक्लबमा ४९ जनालाई गोली हानी मारिदिएका बन्दूकधारीले आक्रमणका बेला प्रहरीलाई गरेको टेलिफोनका क्रममा ती व्यक्ति शान्त सुनिएको बताएको छ।

ओमार मातिनले आधुनिक अमेरिकी इतिहासमा नै सबैभन्दा खराब गोली प्रहारको घटनाका बेला इस्लामिक स्टेट समूहप्रति आफ्नो वफादारिता रहेको दावी गरेका थिए।

ओर्लान्डो शहरका प्रहरी प्रमुख जन मिनाले बताए अनुसार सशस्त्र प्रहरीले उक्त नाइटक्लबको एउटा भित्तामा प्वाल पारेपछि त्यसैबाट निस्केर त्यहां भित्र रहेका धेरैले ज्यान जोगाएका थिए।

हमलाकारी ओमार मातिन पनि प्रहरीले बनाएको त्यसै प्वालबाट बाहिर निस्केको तर उनलाई प्रहरीले गोली हानी मारिदिएको बताइएको छ।

तस्वीर कपीराइट Getty Images

प्रशंसा

ओर्लान्डोका मेयर बड्डी डायरले शहरको प्रहरी विभाग, अन्य सुरक्षा निकाय र सर्वसाधारण जनतालाई 'साहसी कार्य' को लागि प्रशंसा गरेका छन्।

अधिकारीहरुले उक्त गोली प्रहारको घटनामा ४९ जनाको ज्यान गएको स्पष्ट पारेका छन्।

यसअघि पचास जना मारिएका भनिएकोमा त्यो गणनामा बन्दूकधारी हमलाकारी पनि संलग्न थियो, जसलाई प्रहरीले गोली हानी मारीदिएका थिए।

तस्वीर कपीराइट AFP

हमलाका बेला उक्त नाइट क्लबमा कार्यरत ड्युटीमा नरहेका एकजना प्रहरीसंग सुरुमा माटिनको गोली हानाहान भएको थियो, त्यसको केही पछि नै थप प्रहरी त्यहां पुगेका थिए। त्यसपछि भएको संघर्षका क्रममा माटिन केही बन्धकहरु सहित उक्त नाइटक्लबको शौचालयमा लुक्न पुगेका थिए।

वफादार

शौचालयबाट नै प्रहरीलाई टेलिफोन गरेर उनले आफू इस्लामिक स्टेट समूहप्रति वफादार रहेको बताएका ओर्लान्डोका प्रहरी प्रमुख जन मिनाले जनाएका छन्। ओर्लान्डोमा भएको गोली काण्डमा मारिएका धेरै जसोको हाल सनाखत भैसकेको छ र प्रहरीले तिनीहरुको नाम पनि सार्वजनिक गरेको छ।

तस्वीर कपीराइट Reuters

अफगान मूलका अमेरिकी नागरिक ओमार मातिनको जन्म न्यू योर्कमा भएको थियो भने उनी फ्लोरिडामा बसोबास गर्दै आएका थिए।

उनी संदिग्ध आंतककारीको सूचीमा भने थिएनन्।

तर उनलाई सन् २०१३ १४ मा उनले आफ्ना सहकर्मीलाई भडकाउने खाले टिप्पणी गरेको अभियोगमा संघीय जांच व्युरोले दुईपटक सोधपुछ गरेको थियो र त्यो अनुसन्धान बन्द गरिएको थियो।